भद्रपुर । झापाको सदरमुकामदेखि ५ किलोमिटर उत्तरमा पर्ने भद्रपुर–बिर्तामोड नगर सीमा क्षेत्रसंग जोडिएको चन्द्रगढ धार्मिक स्थल उत्खन्नको पखाईमा रहेको छ । भद्रपुर नगरपालिका ९ स्थित देउनिया खोला किनारमा अवस्थित चन्द्रगढलाई जोगाइराख्न चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले पहल शुरु गरेको हो ।
यसको संरक्षणका लागि स्थानीय सरकार भद्रपुर नगरपालिकालाई लिखित र मौखिक रुपमा आग्रह गरेर वन समितिले अवधारणापत्र बनाएर अघि बढाएको छ । सोही अवधारणा पत्रका अनुसार भद्रपुर नगरपालिकामा गुरुयोजना बनाइ काम शुरु गरेको पाइएको छ । यो स्थान मौर्यकालीन इतिहाससंग जोडिएको यहाँका विज्ञहरु बताउँछन । प्रारम्भिक अध्ययन अनुसार विभिन्न १६ वटा थुम‚ २ वटा पोखरी र बीच–बीचमा अग्लो माटोको बाटोले घेरिएको गोलो आकारको स्थल झापाकै किचकबध धार्मिक स्थल भन्दा पुरानो रहेको विज्ञहरुको दावी छ ।
तत्कालिन चन्द्रगढी गाविस २ मा पर्ने ६२ बिगाहा जमीनमा श्री ३ चन्द्र शमशेर आई सैनिक किल्ला कायम गरी भौतिक रुपमा गढ निर्माण गरी सानो भवन‚ सिसाको इनार समेत निर्माण गरिएको अनुमान गरिएको छ । हाल उक्त इनार भग्नावशेषको रुपमा पाइन्छ । सो स्थानमा लक्ष्मी नारायण मन्दिरको निर्माण समेत गरिएको छ ।
सो क्षेत्रलाई धार्मिक तथा ऐतिहासक पर्यटकीय स्थलको रुपमा विकास गराउन स्थानीय लागि परेका छन् । चन्द्रगढको महत्वको बारेमा चन्द्रगढी र भद्रपुरबासीलाई नै थाहा नभएको वन समितिका अध्यक्ष हिरा पोखरेलले बताए । चन्द्रगढको नामबाटै साविक चन्द्रगढी गाविस भएको इतिहास रहेको उनको भनाइ छ ।
तर‚ अहिले सो इतिहासबाट सबै अनविज्ञ रहेकोमा आफुलाइ नरमाइलो लागेको उनले गुनासो गरे । जंगलको नजिकै रहेको चन्द्रगढको किल्ला झारजंगलले छोपिएकोले कोही भित्र पस्न सक्दैन थियो‚ वन समितिकै पहलमा सरसफाई गरेर पुरानो पहिचानलाई मेटाउन दिएका छैनौ । करिब १० विगहा क्षेत्रफल ओगोटिएको यस क्षेत्रलाई सरसफाई गर्दा वन समितिले ३ लाख २७ हजार खर्च गरेको उनले जनाए ।
चन्द्रगढ पुरानो किल्लाको रुपमा देखिएकालेे यसलाई एक पटक उत्खन्न गरे मात्र ऐतिहासिक धार्मिक स्थल भनि पुष्टि हने मेची बहुमुखी क्याम्पसका पूर्व सह प्राध्यापक चिन्तामणि दाहालले बताए । एउटा सानो टुक्राको उत्खन्न गर्दा अहिले १५ देखि १६ लाख रुपैया सम्म खर्च हुने उनले बताए । जुन नेपालमा संम्भव छैन‚ भारत हुन्छ कि बैंङकमा हुन्छ‚” दाहालले भने‚ ‘पटक–पटक परिक्षण गर्दा दुई/चार करोड लाग्ने भएकोले चन्द्रगढ उत्खन्नको पखाईमा रहेको उनको भनाई छ ।
उनका अनुसार यसको उत्खन्न अहिले सम्म पुरातत्व विभागले शुरु गरेको छैन । अहिले सम्मको अध्ययन र पुुरातत्व विभागको अवलोकन भ्रमणले चन्द्रगढ २ हजार बर्ष पुरानो किल्ला हो‚ जुन मौर्यकालीनसंग जोडिएको हुन सक्छ । ‘जंगल र पहाड नजिकै बनाइएको किल्ला कस्को भनि प्रमाणित भएको छैन‚ उनले भने‚ ‘सोही बेलामा सुरक्षाको दृष्टिकोणले सैनिक किल्ला बनाएर शासन गरेको हुन सक्छ ।’ किचकवधको उत्खन्नको बेला पुरातत्व विभागको टोली यहाँ आएको थियो‚ उनले भने‚ “अवलोकन त गरे‚ ‘तर’ ‘अहिले सम्म उत्खन्न भएको छैन‚ एक पटक पुरातत्व विभागले उत्खन्न शुरु गरेमा मात्र ऐतिहासिक महत्व प्रमाणित हुन्छ ।” यसको पहिचानका लागि यस स्थानको संरक्षण गर्दै आएको चन्द्रगढी सामुदायिक वन र स्थानीय सरकारले पहल गर्नुपर्ने उनको धारणा थियो ।
झापामा अर्जुनधाराधाम‚ किचकबध‚ सताक्षीधाम‚ विराटपोखरी‚ समयगढ जस्ता ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेका धार्मिक स्थलहरु रहेका छन् । केही स्थानमा पुरातत्व विभागले उत्खन्न गरी धार्मिक तथा ऐतिहासिक स्थल भनि दावी गरी सकेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।