काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरेको छ । मंगबार बिहान राजधानीबाटै पक्राउ परेका गोरेलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित विशेष अनुसन्धान टोलीले ‘गोरे’लाई पक्राउ गरेको हो ।
साढे ३३ किलो सुनका मुख्य अभियुक्त गोरे फरार भएपछि नेपाल र छिमेकी मुलुक भारतमा गरिएको अनुसन्धानबाट उनी काठमाडौँ आएको सूचनाका आधारमा मंगलबार बिहान काठमाडौँ महानगरपालिका– ८ गौरीघाटबाट पक्राउ गरिएको संयोजक पौडेलले बताए ।
यस प्रकरणमा १९ वैशाखमा मोरङ जिल्ला अदालतमा ६५ जनाको नाममा मुद्दा दर्ता गरिएकामा ३२ जनालाई अदालतमा उपस्थिति गराइसकिएको छ भने अरु फरार रहेको पौडेलले बताए ।
संयोजक पौडेलले घटना जेरीजस्तै जेलिएकाले गम्भीर रुपमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘यी अभियुक्तबाहेक अन्य विषयमा पनि सूचना प्राप्त भएको छ, हामी चाँडै नै अरु अभियुक्तलाई पनि सार्वजनिक गछौ’ उनले भने ।
अनुसन्धानका लागि गठित टोलीलाई ४५ दिनको म्याद दिइए पनि टोलीले अनुसन्धान पूरा गरी नसकेकाले सरकारले टोलीको म्याद जेठ मसान्तसम्मका लागि थप गरेको छ । संयोजक पौडेलले सुन काण्डका मुख्य अभियुक्त गोरे समातिएकाले गोरेसँगको बयानबाट थप अनुुसन्धान गरिने बताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।