साउन ८, भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा भोलि पनि सुनुवाई हुने भएको छ ।
ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा परेको यो रिट आज पनि हेर्दा हेर्दैमा राखिएको छ । आज बहस नसकिएकाले रिटलाई हेर्दा हेर्दैमा राखिएको र भोलि पनि सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ । गत मंगलबार न्यायाधीश भण्डारी विदेश गएका कारण रोकिएको सुनुवाई आज पुन सुरु भएको थियो ।
मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो । मुद्दामा सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको २ महिना वित्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन । चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् ।
श्रोतः रेडियो नारायणी