काठमाडौं, (नेस)
सरकारले कक्षा ९ र १० मा ५ वटा अनिवार्य र २ वटा ऐच्छिक विषय रहने व्यवस्था गरेको छ।
२ वटा ऐच्छिकमध्ये एउटा पेसा र व्यावसायिक विषय बनाइएको छ। कक्षा ११ र १२ लाई एकलपथीय बनाइएको छ। जसअनुसार नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षालाई अनिवार्य र ३ विषयलाई ऐच्छिक रहने व्यवस्था गरेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हिजो शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गिरिराजमणि पोखरेलले आफूले हालसम्म गरेका ११ बुँदे कामको विवरणबारे सार्वजनिक गर्नुभएको हो।
उहाँले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गर्ने अभियान सम्पन्न भएको जानकारी गराउनुभएको छ। यस अभियानबाट विद्यालयबाहिर रहेका कक्षा १ देखि ५ सम्म ५ देखि ९ वर्ष उमेर समूहका ८८ हजार २ सय ७ मध्ये ७६ हजार ६ सय ५७ र कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका ३ लाख १३ हजार २ सय ८९ मध्ये २ लाख ५३ हजार ५ सय ५६ बालबालिका विद्यालयमा भर्ना भएका छन्।
यस अभियानमा कुनै पनि कारणले अहिले पनि विद्यालयबाहिर रहेका बालबालिका भर्नाको दोस्रो चरण प्रारम्भ गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको जानकारी दिनुभयो।उहाँले अब मन्त्रालयको संरचनामा ७ वटा महाशाखा रहेका र पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्र केन्द्रीय निकायका रूपमा रहने गरी मन्त्रिपरिषद्बाट स्वीकृत भएको जानकारी दिनुभयो।
सार्वजनिक विद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तर सुधारका लागि सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिने, प्राविधिक शिक्षामा लिइने शुल्कसम्बन्धी व्यवस्था र छात्रवृत्तिमा अध्ययन गरेका व्यक्तिले निश्चित अवधिसम्म अनिवार्य सेवा गर्नुपर्ने व्यवस्थाका सम्बन्धमा सुझाव दिन गठित दोस्रो कार्यदलले कार्य अघि बढाउने, विदेशी शिक्षण संस्थाबाट सम्बन्धन लिई सञ्चालित विद्यालयलाई व्यवस्थित गर्ने सम्बन्धमा अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यदल गठन गरी कामलाई अगाडि बढाएको, स्थानीय शिक्षाको नमुना कानुन तयार भएको जानकारी गराउनुभयो।
त्यस्तै संघीय शिक्षा र शिक्षाको अधिकारसम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भएको, विश्वविद्यालयका उपत्यकामा सञ्चालित रहेका सम्पर्क कार्यलय असार मसान्तभित्र खारेज गर्न आवश्यक निर्देशन गरिएको, एसिया प्रशान्त क्षेत्रीय बाल विकास सञ्जाल (आर्नेक)को सम्मेलनको तयारी पूरा भएको र विदेशी योगमाय आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।