नेपाल समाचारपत्र
काठमाडौं
गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि चिनका राजदूत यु होङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो। भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि राजदूतसँग आग्रह गर्नुभएको थियो।
उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
गृहमन्त्रीले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार गरिरहेको भन्दै त्यसको नियन्त्रण गर्न चिनियाँ पक्षको सहयोगका लागि आग्रह गर्नुभएको थियो।
भेटमा राजदूत होङले गृहमन्त्रीका रूपमा कार्यभार सम्हालेकामा चीनका सामाजिक सुरक्षा मन्त्रीले पठाउनुभएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गर्नुभएको थियोे।
राजदूत होङले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको र यसलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो।
उहाँले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
राजदूत होङले चीनको नाका हुँदै नेपालमा भइरहेको सुन तस्करीको विषयमा गृहमन्त्री थापाले उठाएको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिनुभएको थियो।
उहाँले गृहमन्त्रीका रूपमा मन्त्री थापाले यातायात क्षेत्रको एकाधिकार हटाउनेलगायतका पछिल्ला कामहरू आफूहरूले नियालिरहेको भन्दै ती काम प्रशंसनीय रहेको बताउनुभएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।