काठमाडौं, (नेस)। नेपाली कांग्रेस काभ्रेका पूर्वजिल्ला सभापति शिवप्रसाद हुमागाईं कांग्रेस केन्द्रीय सदस्यमा मनोनित भएका छन्। सभापति शेरबहादुर देउवाले बिहीबार हुमागाईंसहित लमजुङका दिलबहादुर घर्ती, दाङकी शीला शर्मालाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो।
कृष्णप्रसाद सिटौला प्यानलका हुमागाईं लामो समय कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर कार्य गर्दै आउनुभएको थियो। २०३६ सालमा विद्यार्थी आन्दोलनबाट राजनीति शुरु गरेका हुमागाईंले २०४० देखि २०४६ सम्म नेविसंघ जिल्ला सभापतिको रुपमा समेत नेतृत्व सम्हाल्नुभएको थियो। २०४८ देखि २०५१ सम्म क्षेत्र नं ३ को सभापति र जिल्ला सभापतिको भूमिका निर्वाह गर्नुभएका हुमागाईंले १५ वर्ष काभ्रे जिल्लामा पार्टीको नेतृत्व गर्नुभएको थियो।
२०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुमागार्इंले २०५९ सालमा केन्द्रीय संगठन विभागको सदस्य सचिव भएर पनि काम गर्नुभएको थियो। पटकपटक जेल जीवन बिताएका हुमागाईंकै नेतृत्वमा २०६२÷६३ सालको जनआन्दोलनमा बागबजारमा कफ्र्यु तोडिएको थियो। पार्टीले जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्दै केन्द्रीय सदस्य हुमागाईंले पार्टी संगठन निर्माणमा केन्द्रीत हुने बताउनुभएको छ।
कांग्रेस सभापति देउवाले बिहीबार नै पार्टी विधानको धारा ४९ (१३) क र ख बमोजिम दमननाथ ढुंगाना, तीर्थराम डंगोल र हीरादत्त भट्टलाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा मनोनित गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।