काठमाडौं । विभिन्न उडान कम्पनीहरुले भाडा बृद्धि गरेपछि यात्रुहरु आन्दोलनमा उत्रिएका छन् । यात्रुहरुको ढाड सेक्ने गरी हवाई भाडा बृद्धि गरेको भन्दै हुम्लाका नागरिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।
गत जेठ १० गते बाट भाडा समायोजनका नाममा नेपालगञ्ज र सुर्खेतबाट सिमीकोटको लागि उडान भर्ने विभिन्न विमान कम्पनीहरुले भाडा बृद्धि गरेका छन् ।
यात्रुहरुले भाडा बृद्धिको बिरोधमा शान्तिपुर्ण रूपमा चरणबद्ध बिरोध गरी रहेका छन् ।
सिमिकोटबाट नेपालगन्ज सम्मको भाडादर ५ हजार २९० बाट बढाएर ७ हजार १९० रुपैयाँ कायम गरिएपछि हुम्लाबाट विरोध जनाइएको उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष नामज्ञ्याल तामाङले बताए ।
पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ २९ गते जिल्लास्थित स्थानीय तहका कार्यालयहरुमा धर्ना दिने र जेठ ३० गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने बताइएको छ । यस्तै, जेठ ३१ गते सिमकोट बजार बन्द गरीने, असार १ गते नागरिक उड्डयन कार्यालय, सिमकोटको गेटमा धर्ना दिने र असार २ गते नागरिक उड्डयन कार्यालय सिमीकोट बन्द गर्ने लगाएतका कार्य कार्यक्रमहरु सार्वजनिक भएका छन् ।
पटक पटक हिमाली जिल्ला हुम्लामा पुरानै भाडा कायम गर्नको लागि जिल्ला पशासन कार्यलयमार्फत नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ज्ञापन पत्र पेश गरेको भएपनि सुनुवाई नभएको स्थानीयहरु बताउँछन् ।
हुम्ला बासीले गरेको पहिलो चरणमा माग सम्बोधन नभए अर्को चरणको कार्यक्रममा सिमकोट बिमानस्थलमा ढुडंगा मुढा गर्ने नागरिक समाजका अध्यक्ष गणेश महतले चेतावनी दिएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।