काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास हुन सक्दैन भन्नुभयो । “पार्टी प्यालेस र क्याटरिङ क्षेत्र उद्योग हो, यसको विकास गरेर बेरोजगार युवालाई रोजगार दिनु जरुरी छ,” उहाँले भन्नुभयो ।
महासंघका अध्यक्ष अरुणशंकर वैद्यले नेपालमा चार दशकअगाडि स्थापना भएको पार्टी प्यालेस तथा क्याटरिङ हाल नेपालको ४४ जिल्लामा चार हजार हाराहारीमा रहेको जानकारी दिनुभयो । महाधिवेशनमा देशभर रहेका व्यवसायीका विभिन्न समस्या तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा छलफल हुनेछ । महाधिवेशनपछि नयाँ कार्यसमिति चुन्ने महासंघमा हाल देशभर ४२ जिल्लाका २०० महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।