विमल विष्ट, डोटी
वर्षा सुरु भएसँगै डोटीका ग्रामिण क्षेत्रमा धान रोपाईको चटारो बढेको छ । किसानहरु विहानदेखि साँझसम्म धान रोपाई गर्नमै ब्यस्त छन् ।
समयमै मनसुन सुरु भई पानी पर्न थालेपछि सिंचाई सुविधा नभएका स्थानमा समेत रोपाई सुरु भएको जोरायल गाउपालिका ३ का दिनेश मल्लले बताउनु भयो । उहाँले भन्नु भयो ‘यो वर्ष समयमै मनसुन सुरु भएको छ,किसानलाई धान रोपाईले भ्याई नभ्याई भा को छ, खाना खाने फुर्सद नै हुदैन् ।’
जिल्लाका ग्रामिण क्षेत्रका अधिकांस भागमा अहिले पनि परम्परागत शैलीमा गोरुले नै जोतेर रोपाई गर्ने गरिन्छ भने आधुनिक कृषि यन्त्रको पनि प्रयोग बढ्दो क्रममा रहेको जिल्ला कृषि बिकास कार्यालय डोटीले जनाएको छ । डोटीमा कुल १० हजार ६ सय ६५ हेक्टर क्षेत्रफलमा धान रोपाई गरिन्छ ।
कृषि विकास कार्यालय डोटीको तथ्यांक अनुसार गएको बर्ष डोटीमा २२ हजार ४ सय ४४ मेट्रिक टन धान फलेको र जस्ले गर्दा जिल्लामा २.१४ टनप्रति हेक्टर धान उत्पादनमा बृद्धि भएको थियो । यहाँका ग्रामिण क्षेत्रमा धान रोपाईको चटारो भएपनि जिल्ला सदरमुकाममा पानी नपर्दा धानको बेर्ना समेत राख्न सकिएको छैन् । कृषि विकास कार्यालय डोटीको तथ्यांक अनुसार जिल्लाका ग्रामिण क्षेत्रमा करिब ४० प्रतिसत धान रोपाई सकिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।