हेटौडा, (नेस)
हेटौंडामा शुक्रबार राति धेरै ठाउँमा हिलोसहित वर्षा भएको छ । भारतको राजस्थान हुँदै नेपाल प्रवेश गरेको हावाले ल्याएको धुलोका कारण फोहोर हिलोसहित पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डाँडाकाँडा वरिपरि तुवाँलो लागेको जस्तो देखिने र यो क्रम शनिबार पनि जारी रह्यो ।
सहारा मरुभूमि क्षेत्रमा निकै प्रचलित रेन डस्ट हेटौंडामा पनि परेको हो । यसमा केके कम्पोजिसन छ भन्नेबारे नेपाली निकायले अध्ययन गरेका छैनन् । मौसम विभागले राजस्थानको धुलो भनिसकेको छ । रोयल मेटेरोलोजिकल सोसाइटीको एउटा जर्नलमा एसियामा डष्ट रेनको नक्सांकन गरिएको छ ।
महाशाखाका अनुसार उच्च वायुमण्डलमा भारतबाट आएको धुलो डाँडाकाँडामा तुवाँलो जस्तो भएर बसेको र त्यही धुलो टाँसिएर फोहोर पानी परेको हो । अरु बेला पनि उच्च वायुमण्डलमा भारतबाट धुलो आउने गरेको बताउँदै सम्भवतः वर्षा हँुदा हिलोसहित पानी परेको यो पहिलो भएको बताइएको छ ।
विभागले भारतीय आकाशमा राजस्थान आसपासको मरुभूमिमा अत्यधिक मात्रामा बिहीवारदेखि हावाहुरी चलेकाले आकाशमा धुलो जम्मा भएका कारण केही भागमा पानी पर्दा धमिलो पानी परेको जनाएको छ ।
केही दिनयता नियमित वर्षा भइरहेको छ । तर, यस पटकको वर्षा अघिल्लो वर्षाभन्दा फरक देखिएपछि स्थानीय त्रसित बनेका छन् । हिलो पानी परेएपछि स्थानीय अचम्ममा परे । धमिलो पानीमा लेदो देखिएको छ । हिलो पानीका कारण तरकारी तथा केरा खेतीलाई समस्यामा पारेको किसानको भनाइ छ । हिलो पानी परेको भन्दै नागरिकले फोटोसहित सामजिक सञ्जालमा स्टाटस पोष्ट गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।