राम धामी, डडेल्धुरा
आलिताल गाँउपालिकाका ८ ओटै वडामा बस्तीस्तरका योजना तर्जुमा कार्य अन्तिम चरणमा पुगेको छ । वडा कार्यालयहरुको अगुवाईमा बस्तीस्तरमा योजना तर्जुमा भइरहेको हो ।
आलिताल गाँउपालिकाका सबैजसो वडा कार्यालयहरुले बस्तीस्तरमा योजना तर्जुमा कार्य अन्तिम चरणमा पुगाईसकेको आलिताल गाँउपालिकाले जनाएको छ । बस्तीस्तरका योजना तर्जुमा गरिदा समुदायका बास्तविक आवश्यकताहरुको पहिचानका साथै योजनाहरुको प्राथमिकरण प्रभावकारी हुने आलिताल गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिँह ठगुन्नाले बताए ।
समुदायस्तरबाट प्राथमिकतामा परेका योजनाहरु कार्यान्वयनका लागि वडा कार्यालयमा छलफल हुने गरेको र वास्तविक आबश्यकताका आधारमा योजना तर्जुमा भईरहेको पडा नं. ४ का वडाध्यक्ष चन्द्रदेव बोहराले बताए । उनले समुदायस्तरबाट बाटोघाटो, सडक निर्माण, सिँचाई, खानेपानी जस्ता भौतिक पुर्वाधार निर्माणका योजनाहरुको माग आउन थालेको जानकारी दिए ।
समृद्ध आलिताल गाँउपालिका निर्माणको अभियानमा जुटेको आलिताल गाँउपालिकाले भने कृषि र पर्यटन विकास मार्फत आर्थिक समृद्र्धी हासिल हुने निष्कर्ष निकाल्दै उत्पादनसिल क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने भएको छ । आर्थिक विकास र समृद्र्धीका लागि भौतिक पुर्वाधार विकास निर्माण अपरिहार्य भएकाले भौतिक पुर्वाधार विकाससँगै उत्पादनसिल क्षेत्रमा लगानी गरिने गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।
योजना तर्जुमा प्रकृयालाई प्रभावकारी बनाउनका लागि लक्षित समुदायको सहभागिता अनिवार्य हुने भएकाले समुदायस्तरबाटै योजना तर्जुमा भईरहेको अध्यक्ष गुरुङले बताए । “सिमित साधन श्रोत खर्च गरेर गाँउपालिकाबासीका असिमित आबश्यकताहरु पुरागर्ने बाध्यता छ,” उनले भने,“आम नागरिकका बढदै गरेका आकंक्षा र आबश्यताहरु परिपुर्ती गर्न गाँउपालिकाले बिभिन्न निकायसँग समन्वय सहकार्य गरेर श्रोत बढाउदै प्रभावकारी रुपमा योजना कार्यान्वयन गर्नेछ ।”
गाँउपालिकाका बिकट बस्तीहरुमा अझै पनि आधारभुत आवश्यकता परिपुर्ती हुन नसकेको भन्दै स्थानीय जनप्रतिनिधीहरुले आधारभुत आबश्यकता परिपुर्तीका लागि योजना केन्द्रित हुने बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई जस्ता आबश्यकतामा आधारित योजनाहरुको माग समुदायस्तरबाट तिब्र रुपमा भईरहेको आलिताल गाँउपालिकी उपाध्यक्ष जला बिष्ट बोगटीले बताइन । जिल्लाका अन्य स्थानीय तहमा समेत हाल बस्तीस्तरमा योजना तर्जुमा भइरहेको छ ।
बस्तीस्तरबाट छनौट भई प्राथमिकता निर्धारण गरिएका योजनाहरु बडास्तर हुँदै गाँउपालिका सम्म पुग्नेछन । गाँउपालिकाले गाँउ सभाबाट योजना पारित गर्ने प्रावधान छ । गाँउपालिकाले आफ्नो साधन श्रोतले भ्याउन नसक्ने योजनाहरु जिल्ला समन्वय समिति, प्रदेश सरकार र संघीय सरकारमा पठाउने छ । बस्तीस्तरबाट छनौट भई प्राथमिकतामा परेका योजनाहरुको कार्यान्वयनका लागि साधन श्रोत जुटाउन गाँउपालिकाले प्रयत्न गर्ने आलिताल गाँउपालिकाका अध्यक्ष गुरुङले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।