नेपाल समाचारपत्र, विराटनगर
बिपी विचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले तीन तहकै निर्वाचनमा नेपाली काङ्ग्रेसले भोग्नुपरेको लज्जास्पद पराजयको सम्पूर्ण जिम्मेवारी टिकट वितरण गर्ने संसदीय समिति, वर्तमान केन्द्रीय समिति र यसको नेतृत्वले लिनुपर्ने बताउनु भएको छ ।
समाजको प्रदेश नम्बर १ र मोरङ जिल्ला कार्यसमितिको आयोजनामा भएको ध्रुवीकृत राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसको भूमिका विषयको विचार गोष्ठीमा अध्यक्ष गुरुङले यस्तो आग्रह गर्नुभएको हो। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गुरुङले आगामी छ महिनाभित्र पार्टीको नयाँ नेतृत्वको चयन गरिनुपर्ने माग गुर्नभयो ।
पार्टीको विधानमा समयानुकूल परिमार्जन गरेर नयाँ नेतृत्वको चयन गर्नु एकमात्र समाधान भएको उहाँको धारणा थियो । समाजमा सहअध्यक्ष एवम् पूर्वमन्त्री गोविन्दराज जोशीले काङ्ग्रेसको नेतृत्वले निर्वाचनका बेला टिकट विक्री गरेको आरोप लगाउँदै उम्मेदवारी दिँदा पनि पक्षपात गरिएको बताउनु भयो ।
पूर्वमन्त्री जोशीले यति बेला काङ्ग्रेसको सैद्धान्तिक निष्ठा र नीति स्पष्ट नभएको तथा काङ्ग्रेस वामपन्थीसित के कुरामा भिन्न छ भन्ने पहिचान हुन नसकेको धारणा प्रकट गर्नुभयो ।
समाजका महासचिव विनयध्वज चन्दले नेपाली काङ्ग्रेसबाट बिपी होइन, बिपीबाट नेपाली काङ्ग्रेस बनेको विचार व्यक्त गर्नुभयो । महासचिव चन्दले कसैको सम्पत्तिको उत्तराधिकारी उसका सन्तान भए पनि विचारका उत्तराधिकारी जो पनि हुन सक्ने र जसले त्यो विचार बोक्यो उही वास्तविक उत्तराधिकारी हुने दाबी गर्नुभयो ।
समाजका केन्द्रीय सदस्य लोकेश ढकालले अन्तर्घात, अनुशासनहीनता र अराजकता काङ्ग्रेसभित्र कहिल्यै निको नहुने रोगजस्तो भएर बसेको टिप्पणी गर्नुभयो ।
केन्द्रीय सदस्य ढकालले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वले काङ्ग्रेसलाई जनतामा अलोकप्रिय बनाएको बताउनु भयो । चुनावका मुखमा विवादास्पद व्यक्तिलाई राजदूतमा नियुक्ति गर्ने, एउटा डिआइजीको नियुक्तिमा सिङ्गो पार्टीलाई बदनाम गराउने र प्रधानन्यायाधीशमाथि व्यर्थको अविश्वास प्रस्ताव ल्याउने जस्ता कामले पार्टी बदनाम र कमजोर भएको उहाको भनाई थियो ।
बिपी विचार राष्ट्रिय समाज मोरङका अध्यक्ष कविराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, काङ्ग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी लगायतका वक्ताले विपीको चिन्तन र विचारले मात्र काङ्ग्रेसले पुनर्जीवन पाउने धारणा व्यक्त गरे ।
यसैबीच नेपाली कांग्रेसले प्रदेश १ का तर्फबाट जिल्ला सभापतिहरुको भेलामा साझा धारणा प्रस्तुत गर्ने भएको छ । यसका लागि प्रदेशका सभापतिहरुले विराटनगरमा छलफल गरेका छन् । आज उदयपुर बाहेकका १३ जिल्लाका सभापतिहरु काँग्रेसको मोरङ कार्यालयमा भएको छलफलमा सहभागी भएका थिए ।
काँग्रेस झापाका सभापति उद्धब थापाले विधान संशोधनदेखि पार्टीको अबको भूमिका, पार्टी अन्तरसंघर्ष, नेतृत्वलगायत विषयमा साझा धारणा लिएर जाने ंबताउनु भयो । काँग्रेस सभापतिहरुको भेला असार ४ गते हेटौंडामा शुरु हुँदैछ । काँग्रेस ताप्लेजुङकी सभापति लीला बोखिमले साझा धारणालेले राम्रो सुझाव र सन्देश जाने भएकोले पनि हामीले यो प्रयास गरेको जानकारी दिनुभयो ।
यस्तै कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले काँग्रेसको भावि कार्यदिशाबारे पनि छलफल गरेर सुझावसहित जाने बताउनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।