
नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा सुनचाँदीका गरगहनाको शुद्धतामा प्रश्न उठेको छ । बजार अनुगमनका क्रममा सुनचाँदीका पसलेहरूसँग अधिकारीहरूले गरेको शुद्धता सम्बन्धि प्रश्न सहज उत्तर दिन नसकेपछि त्यस्तो आशंका उब्जिएको हो ।
वाणिज्य आपूर्ति र उपभोक्ता हित संरक्षण विभागबाट गरिएको अनुगमनका क्रममा त्यस्तो स्थिति फेला परेको हो । खाद्यान्नको बजार अनुगमन बेलाबखत हुने गरेको भएता पनि सुनचाँदीका पसलेहरूले उन्मुक्ति पाउँदै आएको अवस्था थियो । विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठको नेतृत्वमा बेसीशहरका पसलमा गरिएको अनुगमनका क्रममा त्यस्तो फेला परेको उहाँको भनाई छ ।
उहाँका अनुसार जर्ति बारेमा उपभोक्तालाई मर्का पर्ने गरको पाइयो । एउटा पसलबाट औँठी समेत जाँचको लागि हामीले लिएर आएका थियौँ । तर पछि बुझ्दा सबै पसलमा त्यस्तै भेटिएपछि अबका दिनमा विलमा नै त्यस्तो खुलाएर विक्री गर्न निर्देशन दिइएको श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सुनचाँदी व्यवसायी समितिको निर्देशनमा त्यस्तो गरिएको भनियो तर त्यो सरकारको सहमतिमा गरिएको होइन ।
त्यसैगरी, केडियम र जिमको मिसावटका बारेमा समेत सरकारले २ वर्ष अघि नै त्यसको प्रयोगमा निषेध गरेको भए पनि बेसीशहरको बजारमा त्यस्तो तत्वसमेत फेला परेको अनुगमन टोलीको भनाई छ ।
बिलको पनि पहिलो प्रति सरह दोस्रो प्रति विल राख्ने नगरेको भेटिएको अनुगमन कार्यमा संलगन जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि नासु रेशम रिमालले बताउनु भयो । उहाँका अनुसार ८ वटा सुनचाँदीका पसलमा गरिएको अनुगमनका क्रममा सबै पसलको अवस्था उस्तै उस्तै पाइएको थियो । त्यसैगरी नापतौलका सामग्री नविकरण नभएको फेला परेको उहाँको भनाई छ ।
मुख्य कुरा शुद्धताको प्रश्न हो, त्यौ नै अनुत्तरित रह्यो राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष डम्बरबहादुर अधिकारीले बताउनु भयो । उहाँका अनुसार अनुगमन गरिएका सबै पसललाई व्यावसायिक मर्यादा राख्न निर्देशन दिइएको छ । सो अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्च, लमजुङ उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूको सहभागिता थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।