काठमाडौँ, (नेस) ।
प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहन आम प्रयोगकर्ताहरूको ध्यानाकर्षण गराएको छ । काउन्सिलको शुक्रबार बसेको बैठकले सामाजिक सञ्जालको प्रयोगमा ज्ञान नहुँदा र ध्यान नदिई जथाभावी सामग्री पोष्ट गर्दा आम सर्वसाधारण कानुनी फन्दामा पर्न सक्ने भएकाले सार्वजनिक हितका पक्षमा यस्तो निर्णय गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत समेत रहनुभएका प्रवक्ता दीपक खनालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको हो ।
बैठकपछि जारी प्रेस विज्ञप्तिमा फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालहरुमा कुनै सामग्री पोष्ट, कमेन्ट, ट्याग र शेयर गर्दा सावधानी अपनाउन अत्यन्त जरुरी छ भन्दै उल्लेख गरिएको छ–‘केही दिनदेखि काउन्सिल नै खारेज गर्नुपर्ने, आगो लगाउनुपर्ने, काउन्सिलका पदाधिकारी तथा कर्मचारीहरूलाई मार्नेजस्ता धम्कीसहित काउन्सिलले जारी गरिरहेका आचारसंहिता अनुगमनसम्बन्धी बिषयमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत अत्यन्तै अशिष्ट र भ्रामक सामग्री पोष्ट भइरहेको पाइएको छ ।’
सामाजिक सञ्जालबाट जथाभावी पोष्ट गर्दा विदेशमा रहेका नेपालीहरू स्वदेश फिर्ता (डिपोर्ट) हुनसक्ने तथा स्वदेशमा रहेका नेपालीलाई हिरासतमा राखी अनुसन्धान गर्न सकिने सरकारी प्रावधान रहेको जनाउँदै विज्ञप्तिमा थप भनिएको छ–‘अशिष्ट, असभ्य भाषामा कुनै व्यक्ति, संघ–संस्थाबारे आधार, प्रमाणबिनाका तथ्यहीन सामग्री पोष्ट गर्दा बिद्युतीय कारोबार ऐन–२०६३ आकर्षित भई सोहीअनुसार कारबाही हुने प्रावधान छ । सो कुरालाई ध्यानमा राख्न प्रेस काउन्सिल सञ्चारकर्मीलगायत सबैमा अनुरोध गर्दछ ।’
काउन्सिलले प्रचलित ऐन, नियमअनुसार पत्रकार आचारसंहिता अनुगमन गर्दै आएको, आचारसंहिता पालना र पेशागत मर्यादामा उच्च प्राथमिकता दिंदै अनुगमन गर्नुका साथै पत्रकार र आमसञ्चारमाध्यमको व्यावसायिक हितमा जोड दिने गरेको, काउन्सिलले बिद्युतीय सञ्चारमाध्यम स्वअनुगमनलाई प्रविधियुक्त बनाई नियमितरूपमा कर्तव्य पालन गर्दै आएको, छापामाध्यमलाई समेत बिद्युतीय प्रविधिमा लैजाने तयारी गरेको र चौबिसै घण्टा स्वअनुगमन र उजुरीका आधारमा कानूनसम्मत ढंगले आफ्नो काम–कारबाही अगाडि बढाइरहेको खनालले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
काउन्सिल पत्रकार आचारसंहिताअनुसार पत्रकारिता पेशागत कर्तव्य पालनाको सिलसिलामा पत्रकार र आम जनताको साथमा रहेको बताउँदै विज्ञप्तिको अन्त्यमा भनिएको छ–‘काउन्सिलका काम–कारबाहीलाई अझ सशक्त र प्रभावकारी बनाउनका लागि सल्लाह तथा सुझावहरू पठाउन हार्दिक अनुरोध गरिन्छ ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।