यमलाल भुसाल, बुटवल
बुटवल उप–महानगरपालिका कार्यालयलाई स्थानीय सरकारको आधुनिक भवनका रुपमा निर्माण गरिने भएको छ । पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले एक समारोहका बीच शुक्रबार उक्त कार्यालय भवनको शिलन्यास गर्नुभएको छ ।
त्यसक्रममा उहाँले बुटवलको बुद्धकालिन सभ्यता र ऐतिहासिक महत्वलाई झल्काउने गरी काम गर्न जरुरी रहेको बताउनुभयो । आधुनिक भवनको निर्माण कार्य समयमै सक्न आग्रह गर्दै उहाँले निर्माण कार्यहरुमा नागरिकहरुको पनि निगरानी र खबरदारी जरुरी रहेको बताउनु भयो ।
सेवाग्राहीका कामलाई पहिलो प्राथमिकता राखेर अगाडि बढनुपर्ने पौडेलको सुझाव थियो । लुम्बिनी र बुद्धबल्लीलाई केन्द्रमा राखेर समग्र प्रदेशको विकासका लागि जुट्न जरुरी रहेको उहाँको भनाइ थियो । अहिले सरकारले समाजवादको वस्तुगत आधार तयार पार्नेगरी काम गरिरहेको पनि बताउनुभयो ।
बुटवल उप–महानगरपालिकाले करिब तीन विघा जग्गामा गुरुयोजना बनाएर अत्याधुनिक कार्यालय भवन निर्माणको काम सुरु गरेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । सुन्दर बुटवल, समृद्ध बुटवल, सुखी बुटवलबासीको संकल्प अनुसार आफुहरु आवधिक र दीर्घकालिन महत्वका काममा केन्द्रित रहेको उल्लेख गर्दै प्रमुख सुवेदीले बुटवलको विकासमा सबैसंग हातेमालो गरिने बताउनुभयो ।
हाल भवन रहेकासमेतको जग्गामा प्रमुख प्रशासनिकसहित अरु छ वटा ब्लकमा भवनहरु निर्माण गर्ने गरि गुरुयोजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले जानकारी दिनुभयो । शुक्रबार शिलन्यास भएको भवन प्रमुख अर्थात् ‘ए ब्लक’ हो । बेसमेनसहित चार तलाको आधुनिक भवनको अनुमानित लागत ५४ करोड ७८ लाख ४५ हजार तीन सय ८१ रुपैयाँ ५२ पैसा रहेको योजना प्रमुख ईन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
तर, निर्माण कम्पनी विकोही, शिवशक्ति, वन्दन भगवति जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार पाँच सय ७२ रुपैयाँ ८४ पैसामा आगामी ०७८ असारमा सक्ने गरी असार ६ गते बुधबार ठेक्का सम्झौता गरेको इन्जिनियर गौतम रौनियारले जानकारी दिनुभएको छ । उक्त भवनमा रहेको अन्डरग्राउण्डमा एक सय छ वटा मोटरसाइकल, ३५ वटा कारलाई पार्किङ गर्न मिल्ने छ । यसका अतिरिक्त बाहिरी पार्किङ छुट्टै छ । भवनमा दुई अलग–अलग स्थानमा लिफ्ट र दुई वटै सिंढीहरु रहने ईन्जिनियर रौनियारले बताउनुभयो ।
यसैबीच बुटवल उपमहानगरले प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेका बुटवलका तीन जना नागरिक अगुवाहरुलाई सम्मान गरिएको छ । टिकाराम घिमिरे, रामप्रसाद न्यौपाने र राधा घिमिरे पौडेललाई नगद जनही ५१ हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित हुने घिमिरे प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका बुटवलका ज्येष्ठ नागरिक तथा कम्युनिष्ट अगुवा हुनुहुन्छ ।
यस्तै न्यौपाने पनि प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा पुराना कांग्रेसका नेता हुनुहुन्छ । अर्की अगुवा महिला पौडेल विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय नेतृ हुनुहुन्छ । उनी द्वन्द्वपीडित महिला हुन् भने हाल अर्बूद रोगबाट ग्रसित हुनुहुन्छ । ज्येष्ठ नागरिकहरुको योगदानबाटै बुटवलको समृद्धिको अभियान सफल हुने नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।