नुवाकोट (नेस)
त्रिशूली र नुवाकोटको ऐतिहासिक त्रिशूली बजारमा प्रवेश गर्ने पुल जीर्ण भएको छ । पाँच दशकअघि निर्माण भएको पुल समय–समयमा मर्मतसम्भार नहुँदा जीर्ण बनेको हो ।
फलामे ‘बेलिब्रिज’मा प्रयोग गरिएका पाता र नटबोल्ट खिया लागेकाले पुलमा जोखम बढ्दै गएको छ । व्यस्त रहने पुल मर्मत नहुने, सवारीसाधनको आवतजावत बाक्लो हुने भएकाले जोखिम बढेको हो । पुलबाट दैनिक चार सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पुलको सुरक्षालाई मध्यनजर गर्दै एकपटकमा एक मात्र सवारी आवतजावत गर्न दिइँदै आएको छ । स्थानीय सरोकारवालाहरूले हाल भइरहेको पक्की पुलको विकल्प हुनुपर्ने माग गर्दै आएका छन् ।
विदुर नगरपालिका– १ मा रहेको उक्त पुलको अर्को व्यवस्थापन तत्कालै हुनुपर्ने वडाध्यक्ष लेनिन रञ्जितले बताए । भारत सरकारले २०१८ सालमा त्रिशूली जलविद्युत् केन्द्र निर्माणको समयमा बनाएको पुलको आयु सकिएको र जीर्ण अवस्थामा पुगिसकेको उनले बताए । समयमा नै अर्को व्यवस्थापन नभएमा पुलले ठूलो जोखिम निम्त्याउने उनले बताए ।
पहिले ८ टनसम्म सामान बोकेका गाडी मात्र सञ्चालनको अनुमति थियो । तर, अहिले जति पनि लोड सामग्री बोकेका सवारीसाधनहरू ओहोरदोहोर गरिरहेका छन् । पुलको जोखिम दिनानुदिन बढ्दै गए पनि सरोकारवालाहरू मौन रहँदै आएका छन् । समयमा नै वैकल्पिक व्यवस्थाको निर्माण नगर्ने हो भने त्रिशूली पुलले ठूलो दुर्घटना निम्त्याउने स्थानीय समाजसेवी एवम् पासाङल्हामु यातायात समितिका अध्यक्ष कुलवहादुर खड्गीले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।