नेपाल समाचारपत्र, पर्वत ।
पक्की बाटो र पर्खाल भासिएपछि कुश्मा ५ बडागाउँका बासिन्दालाई तनाव भएको छ । योसँगै उनीहरु सतर्कसमेत बनेका छन् । जिल्ला अस्पताल भवन नजिकैको पक्की बाटो र अस्पतालको पर्खाल भासिएको हो ।
बिहीबार राति मुसलधारे पानी परेको थियो । कुश्मामा लभ्लीडाँडाको बाढी तर्काउन नाली छ । उक्त नाली हुँदै बगेको वर्षाको भल पसेपछि भासिएको जमिनका कारण जिल्ला अस्पताल र आसपासका करिब आधा दर्जन घर जोखिममा परेका छन । जिल्ला अस्पताल हुँदै कुश्माकै उपल्लो बजार पुग्ने सडकको करिब ४ मिटर चर्किएको छ । विद्युत् प्राधिकरणले बडागाउँमा वितरण गरेको एउटा पोल भासिएर खाडलमै परेको छ ।
पोल भएको जमिनै भासिएपछि यहाँ बिहीबार बेलुकादेखि विद्युत् अवरुद्ध छ । अस्पतालको डिल हुँदै उपल्लो बजारसम्म आउजाउ बन्द भएको छ । आसपासका बासिन्दा थप भासिनसक्ने भन्दै चिन्तित बनेका हुन् । ‘सानोतिनो खाडल भए हामीले नै पुथ्र्यौं,’ स्थानीय देवीप्रसाद विलासीले भने, ‘यसले हामीलाई धेरै जोखिममा पारेको छ । नगरपालिकाले छिटै समाधान गर्नुपर्छ ।’ स्थानीय ताराबहादुर थापाले बस्ती नै जोखिममा पर्ने गरी भासिएको जमिनको व्यवस्थापन तत्काल हुनुपर्ने बताए ।
स्थानीयले नगरपालिकाका जनप्रतिनिधि, अस्पताल विकास समिति, अस्पताल प्रशासन सबैलाई तत्काल खाडल पुर्न, सडक र विद्युत् सूचारु गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । कुश्मा ५ की वडाध्यक्ष चित्रकला भारतीले जिल्ला अस्पताल र नगरको बस्ती जोखिममा परेकाले यसको तत्काल संरक्षण गरिने बताइन् ।
‘यो समस्या तत्काल समाधान गर्नुपर्छ,’ चित्रकलाले भनिन् ‘वडाको बजेटले भ्याउँदैन । नगरप्रमुखलाई तत्काल बोलाएर समाधानको बाटो खोजिन्छ ।’ नगरप्रमुख रामचन्द्र जोशीले प्राकृतिक प्रकोप नियन्त्रणको बजेटबाट समस्या समाधान गरिने बताए ।
बर्षाको भेलले पार्न सक्ने थप जोखिम नहोस् भनेर नगरपालिका सचेत रहेको उनले बताए । स्थानीयले भने ढल र वर्षाको भेल नतर्काए थप जोखिम बढ्नसक्ने बताएका छन् । ‘नाली साँघुरो भएकाले बाढी बाहिर छिरेर भासिएको हो,’ स्थानीय शिव श्रेष्ठले भने, ‘सडक चौडा पारेर नाली फराकिलो बनाउनुपर्छ । नत्र झन् जोखिम बढ्नेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।