विमल विष्ट, डोटी
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत आयोजना ‘गायत्री मन्त्र’ जस्तै भएको बताउनु भएको छ । उहाँले चुनावी मुद्दा बनाउने र सबैले नाम लिने गरे पनि पश्चिम सेती आयोजना बनाउनेमा खासै चासो कसैको नदेखिएको दाबी गर्नु भएको हो ।
उहाँले भन्नुभयो– ‘वर्षौदेखि पश्चिम सेती आयोजना चुनावी मुद्दा बन्दै आयो तर निर्माण हुन सकेन’ मुख्यमन्त्री भट्टले भन्नु भयो ‘अब यो मुद्दा गायत्री मन्त्र जस्तै भएको छ, न कसैले पश्चिम सेती आयोजनाको नाम लिन छोड्छ न कसैले बनाउन सक्छ ।’ ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना संघीय सरकारले बजेटमा समावेश गरेकाले प्रदेश सरकार अधिकार क्षेत्रभित्र नपर्ने बताउँदै भट्टले भन्नुभयो– ‘प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने योजनाहरुमा हामी अब दाता आउला वा लगानीकर्ता आउला र हाम्रो योजना बनाइदेला भनेर पर्खदैनौ,आफनो काम आफै गर्छांै ।’
मुख्यमन्त्री भट्टले खोलाको क्षमताका आधारमा दुई÷चार मेगावाट विद्युत निकाल्ने गरी प्रदेश सरकारले तयारी गरिरहेको समेत बताउनु भयो । ‘पुँजी जम्मा गरुलाँ र एकैचोटी विकास गरुँला भन्ने सोचाईले काम चल्दैन’ उहाँले भन्नु भयो ‘आफूसंग जति पुँजी छ त्यतिबाटै लगानी गर्न सुरु गर्ने हो, बाँकी लगानीका लागि खोजी गर्दै जाने हो ।’ कुनै लगानीकर्ता आउला र योजना बनाउला भनेर लाग्ने हो भने पश्चिम सेती आयोजनाकै हालत हुने उहाँको दाबी छ ।
डोटीको शिखर नगरपालिकाको नगरसभा उद्घाटन गर्न दिपायल आउनु भएका मुख्यमन्त्री भट्टले स्थानीय तहमा भइरहेको अनियमितता प्रति गम्भीर चिन्ता व्यक्त गर्नु भएको थियो । मुख्यमन्त्री भट्टले भन्नु भयो ‘प्रत्येक राजनीतिकर्मीहरुको उद्देश्य जनताको सेवा गर्ने हुनुपर्छ, व्यक्तिगत स्वार्थ होइन ।’ त्यस्तै उहाँले जनप्रतिनिधिहरुलाई विकास निर्माण र सेवा प्रवाहमा राजनीतिक पूर्वाग्रह नराख्न पनि आग्रह गर्नु भएको छ ।
‘हिजो चुनाव लड्दा हामी कुनै एक दलको टिकटबाट चुनाव लड्यौं, त्यो वेग्लै पाटो हो’ भट्टले भन्नु भयो ‘अब जनप्रतिनिधि भइसकेपछि हामी सवैको जनप्रतिनिधि हो, त्यसैले हामीलाई भोट दिनेको वा आफू संलग्न पार्टीको मात्रै प्रतिनिधि हुँ भनेर सोच्नु हुँदैन ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।