नेपाल समाचारपत्र, काठमाडौं
संयुक्त राष्ट्रसंघीय शान्तिकार्य सञ्चालन विभागका उप–महासचिव जँ लाक्क्रोवा पियर दुईदिने नेपाल भ्रमणका सिलसिलामा मंगलबार काठमाडौं आउनुभएको छ ।
राष्ट्रसंघको शान्ति स्थापना कार्यमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा उहाँको भ्रमणलाई अर्थपूर्ण रुपमा नियालिएको छ । नेपाल आए लगत्तै पियर सुरक्षा निकायका उच्च अधिकारीहरुसँगको भेटवार्तामा व्यस्त रहनु भएको छ । मंगलबार उहाँले प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री र नेपाल प्रहरीका उच्च अधिकृतहरुसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानसेनापतीसँगको भेटवार्तामा राष्ट्रसंघको शान्ति स्थापनार्थ कार्यमा खटिदै आएका नेपाली शान्ति सेना र नेपाली जनशक्तिले निर्वाह गर्दै आएको भूमिकाबारे छलफल भएको बताइएको छ । उप–महासचिव पीयरले शान्ति स्थापनार्थ खटिदै आएका नेपाली महिला सैनिकको सहभागिताको प्रंशसा गर्दै आगामी दिनमा महिला सहभागिता अझ बढाउन आफ्नो पहल रहने बताउनु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो भेटवार्ताका क्रममा राष्ट्र संघ मुख्यालयका शान्ति सेना विभागका सैनिक सल्लाहकार, प्रहरी सल्लाहकार र राजनीतिक मामिला नियाल्ने उच्च अधिकारी समेत संलग्न रहनु भएको थियो । उप–महासचिव पीयरले आज बुधवार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रको स्थलगत अवलोकन गर्दै हुनुहुन्छ ।
विभिन्न २८ मुलुकका सैनिक र सुरक्षाकर्मीले संयुक्त अभ्यास गरिसकेको सो केन्द्रलाई दक्षिण एसियाली स्तरको तालिम केन्द्र बनाउन नेपालले पहल गर्दै आएको छ । पीयरले राष्ट्रपति, प्रधानमन्त्री, रक्षा, गृह र परराष्ट्रमन्त्री सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकसँग छुटाछुट्टै भेवार्ता गर्ने कार्यतालिका तय भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।