सुर्खेत कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रस्ताव गर्नुभएका दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल शुरु भएको छ ।
आज बसेको प्रदेश सभाको बैठकमा योजनामन्त्री ज्वालाले प्रस्ताव गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो । उहाँले कर्णाली प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, २०७५ र कर्णाली प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापनसम्बन्धी विधेयक, २०७५ सभासमक्ष प्रस्ताव गर्नुभएको छ ।
सभामुख राजबहादुर शाहीले उक्त सभामा प्रस्तुत गरिएका दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल गर्न र ७२ घण्टाभित्र संशोधन दर्ता गर्न सभा सदस्यहरुलाई निर्देशन गर्नुभयो । सभामा प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहले जनताको प्रतिव्यक्ति आम्दानीलाई ध्यान राखेर कर लगाउनुपर्ने र त्यसमा किसानलाई सहज बनाउनुपर्ने सुझाव राख्नुभयो । उहाँले कृषकलाई ढाड सेक्ने करले संंघीयता कार्यान्वयनमा नै नकारात्मक प्रभाव पर्ने तर्क गर्नुभयो ।
प्रदेश सभा सदस्य विन्दमान विष्टले ऐन ल्याएर मात्र प्रदेश सरकारले कामकारबाही अघि बढाउन आग्रह गर्नुभयो । सदस्य विष्टले सशर्त, समपूरक र विशेष अनुदान संविधानसँग नबाझिने गरी ल्याउन सुझाउनुभयो । आजै आर्थिक मामिला तथा योजना मन्त्रालयले सभा सदस्यहरुलाई रातो किताब वितरण गरिएको छ । रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।