
नेपाल समाचारपत्र, पर्वत
जिल्ला प्रहरी कार्यालय पर्वतमा रहेको महिला तथा बालबालिका सेवा केन्द्र (महिला सेल) मा २ जना पुरुषले श्रीमतीबाट पिडित भएको भन्दै न्यायका लागि उजुरी दिएका छन् ।
प्रहरीमा महिला तथा बालबालिका सम्बन्धि घटनाहरु हेर्ने गरी खडा गरिएको केन्द्रमा जलजला गाउँपालिका २ धाइरिङका एक व्यक्ति र कुश्मा नगरपालिका १ पाङका एक व्यक्तिले श्रीमतीबाट पिडित भएको भन्दै उजुरी दिएका हुन् ।
उनीहरु दुवै जनाले श्रीमतीले छोराछोरी पालन पोषणमा ध्यान नदिएको र घर भन्दा बाहिर बढी समय दिने गरेको भन्दै न्यायका लागि उजुरी दिएको प्रहरीले जनाएको छ । उक्त उजुरी उपर जिल्ला प्रहरी कार्यालय पर्वतले पाँङका पिडित पुरुषका श्रीमान् श्रीमती दुवै जनालाई कार्यालयमा बोलाएर मिलापत्र गराएको छ भने जलजलाका पत्नी पिडित व्यक्तिको मुद्धा अझै कानुनी प्रक्रियामा रहेको छ ।
यस्तै सेवा केन्द्रमा आर्थिक बर्ष २०७४।७५ मा जेठ महिना सम्म ५९ वटा घरेलु हिंसा सम्बद्ध उजुरी दर्ता भएका छन् । उक्त उजुरी मध्ये प्रहरीले आफै ४१ वटा उजुरी मिलापत्र गराएको छ भने ७ वटा उजुरीमा मिलापत्र गराउन नसकेपछि अदालतमा पठाएको छ ।
त्यस्तै ८ वटा उजुरी कानुनी प्रक्रियामा रहेका छन् भने ३ वटा उजुरी दिएका व्यक्तिहरु सम्पर्कमा नआएको महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज रचना थापाले जानकारी दिइन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।