दयाराम पण्डित, बाजुरा
बाजुराको हिमाली गाउपालिका वडा नं तीन गुम्वा गाउँका महिलाहरु, स्वास्थ्य संस्थामा गएर प्रशुती हुनुपर्छ भन्ने थाहा भए पनि घरमै बच्चा जन्माउनु पर्ने वाध्यतामा छन् । गुम्वा गाउँबाट विच्छ्या स्वास्थ्य चौकी पुग्न दुई दिन लाग्ने भएकै कारण उनीहरु स्वास्थ्य चौकी सम्म आउदैनन् र प्रशुती सम्वन्धी कुनै पनि सेवा लिइएको देखिदैन ।
राज्यले भौगोलिक विकटा देखाएर आफूहरुको स्वास्थ्य अधिकार हनन् गरिरहेको आरोप त्यहाका स्थानियको छ । हिमाली गाउपालिकको हुम्ला संग जोडिएको गुम्वा गाउँमा वसोवास गरिरहेका जनजाति परिवारले गर्भअवस्थामा चार पटक गर्भजाँच, आइरन चक्की, टिटी खोप लगायत कुनै सेवा नपाएको गुनासो गुम्वाकी लक्ष्मी गुरुङको छ ।
गुम्वा गाउँका गर्भवति महिलाले अहिले पनि सुडेनीको भरमा बच्चा जन्माउनु परेको र आईरन चक्की समेत खान नपाएको स्थानिय कृष्ण लामाले गुनासो गर्नुभयो । गर्भवति अवस्थाका महिलाहरुलाई विराम लाग्दा भगवानको भरमा पर्नुको कुनै विकल्प छैन स्थानिय तिलक सिह थापाले बताउनु भयो ।
२७ परिवारका २ सय बढी बसोवास गरि रहेका भए पनि भौगोलिक रुपमा टाढा भएकै कारण कुनै पनि सेवा सुविधा आफूहरुले नपाएको गुनासो स्थानियको छ । भौगोलिक रुपमा बाजुराको ठुलो क्षेत्रफलमा रहेको हिमाली गाउपालिकाका वस्तीहरु टाढा भएका कारणले पनि अधिकांस ठाउका नागरिकका लागि सरकारी सेवा सहजरुपमा नपाएको बताउने गरेका छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।