१७ असार , एजेन्सी – विश्वकप सम्बन्धी आश्चर्य लाग्ने समाचारहरु बाहिर आइरहँदा अर्जेन्टिनाबाट यस्तै एक अचम्म लाग्दो समाचार बाहिर आएको छ ।
अर्जेन्टिनाका कैदीहरुले विश्वकप हेर्न नपाएको भन्दै विरोध गरेका छन् । राजधानी ब्युनर्स आयर्समा रहेको जेलका कैदीहरुले यस्तो हर्कत गरेका हुन् ।
विश्वकपका खेल टेलिभिजनमा प्रत्यक्ष हेर्न पाइयोस् भनेर कैदीहरुले आन्दोलन गरेका छन् । उनीहरुको माग पुरा पनि गरिएको थियो तर, त्यहाँ स्थित केबल कम्पनीले गडबडी गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।
केही कैदीले आफ्नो मानव अधिकार तथा मौलिक हक हनन भयो भनेर मुद्दा हाल्ने योजनासमेत बनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
अर्जेन्टिना शनिबार बेलुका भएको खेलमा फ्रान्ससँग पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ ।