सरिता चलाउने, सल्यान ।
सल्यानमा अवैैधानिक रुपमा राखिएका ४ थान भरुवा बन्दुक सहित ३ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीका विभिन्न घरहरुबाट आइतबार प्रहरीले ४ थान भरुवा बन्दुक सँगै ३ जनालाई नियन्त्रनमा लिएको थियो । यसबारे सोमबार प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
पक्राउ परेका ३ जना र ४ थान भरुवा बन्दुकलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको छ । प्रहरीले विषेश सूचनाको आधारमा उनीहरूको घरमा छापा मारेर घरेलु बन्दुक फेला पारेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी भरत विकले जानकारी दिए । ४ थान बन्दुकसँगै गोली, छरा, बारुद रहेका छन् ।
शान्ति सुरक्षामा खलल पुर्याउने र स्थानीयहरू त्रसीत हुने भएकाले नियन्त्रणमा लिएको डिएसपी विकले बताए । यी घरेलु बन्दुकहरु विषेशगरी जंगली जनावरहरुको सिकार गर्नमा प्रयोग गरीने उनले बताए । पक्राउ परेका ३ जनाको अनुसन्धान भईरहेकोले नाम नखुलाएको डिएसपी विकले बताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।