काठमाडौं (नेस)
प्रधान सेनापती राजेन्द्र क्षेत्री १० दिने चीन तथा म्यान्मार भ्रमणका लागि जाने भएको छ । चिनिया जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापती क्षेत्री भोली चीन तर्फ प्रस्थान गर्ने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भ्रमणका बेला प्रधानसेनापति क्षेत्रीले चीन तथा म्यान्मारका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ ।
भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षेत्री असार २९ गते स्वदेश फिर्ता हुने छ भने भ्रमण अवधिभर प्रधान सेनापति क्षेत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्रहरु चीन तथा म्यान्मारका सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।