मोतीराम तिमल्सिना
काभ्रे । सरकारले स्थायी संरचना र विकासका लागि हचुवाको भरमा योजना नबनाई डिटेल सर्भे पछि रकम विनियोजन गर्ने सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको दोश्रो जिल्ला सभा बैठकको धुलिखेलमा उद्घाटन गर्दै मन्त्री बास्कोटाले आम नागरिकलाई विकासको भोक जागेको बेला सरकारले स्थायी ढंगको विकास निर्माण बाट सम्वृद्ध नेपालको परिकल्पना गरिरहेको बताए ।
पानी र जैविक विविधता जोगाउने गरी खानी र क्रसरहरुको ब्यवस्थापन गर्नु पर्ने बताउँदै जिल्लाको सम्भावनाहरुलाई तिनै सरकारले प्राथमिकतामा राखेको बताए । धुलिखेलसम्मको मेट्रो रेल, एयरपोर्ट, खानेपानी, महाभारत मेट्रो ट्रेल लगायतका विकासका महत्वपूर्ण योजनाहरुमा सरकारले ध्यान दिएको बताए । ‘योजना बनाउनुस्, कार्यान्वयन गर्नुस्, पैसाको समस्या छैन’–मन्त्री बास्कोटाले भने–‘नागरिकसँग जोडिने गरी सरकारले देशभरका स्थानीय सरकारहरुले चलाउने एप्स निशुल्क वितरण गरिनेछ ।’ त्यसको शुरुवात काभ्रेपलाञ्चोक जिल्लाबाट शुरुवात गरिने मन्त्री बास्कोटाले बताए ।
समन्वय प्रमुख उद्धव केसीले जिल्ला सभामा जिल्लाको नीति तथा मार्गदर्शन प्रस्तुत गर्दै भुकम्प पुर्ननिर्माण, जिल्लामा भईरहेका विकास निर्माण लगायतका क्षेत्रमा भएका गतिविधिहरु सार्वजनिक गरेका थिए । पूर्वाधार विकासमा सबै नगरपालिका र गाउँपालिकाहरुलाई केन्द्रसँग जोड्ने सडक, वडा कार्यालयसम्म आईपुग्ने सडक निर्माण, फोहोर मैला ब्यवस्थापन, कभर्ड हल, एकिकृत खानेपानी, रिचार्ज पोखरी, जलाधार क्षेत्र संरक्षण, सार्वजनिक शौचालय निर्माण, खेतियोग्य जमिनमा सिंचाई निर्माण लगायतलाई प्राथमिकतामा राखिएको छ ।
आर्थिक विकासका लागि सम्वृद्ध काभ्रेपलाञ्चोक भन्ने अभियानका लागि शिक्षा, स्वाथ्य, रोजगरा, कृषि र पर्यटन क्षेत्रको हब बनाउने लक्ष्य राखिएको छ । ब्यवस्थित बजार केन्द्र, कृषिजन्य उत्पादन र भण्डारण, पकेट क्षेत्र घोषणा, पशु उत्पादनको ब्यवस्थित बजारीकरण, पशुपंक्षी क्षेत्रको दिगो विकास, सहकारी क्षेत्रको प्रवद्र्र्धन लगायतका लक्ष्य लिईएको छ । समन्वय प्रमुख केसीले सामाजिक विकास, उद्योग तथा पर्यटन विकास, सूचना संचार, शुसासन तथा संस्थागत विकास सँगै सम्वृद्ध काभ्रे पलाञ्चोक निमार्णका लागि प्रदेश तीनको राजधानी बनाउन माग गरेको छ ।
धुलिखेलसम्मको ६ लेनको सडक, एक हजार सिट क्षमताको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र, इन्द्रावती बहुउद्देश्यिय परियोजना, पनौती, नमोबुद्ध बेथान्चोक, सुलिकोट लगायतका स्थानलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न, केबुलकार निर्माण गर्न, सुख्खा बन्दरगाह निर्माण आयोजना निर्माण गर्न माग गरेको छ । समन्वय प्रमुखले संविधानमै भएको अधिकारलाई कार्याविधि बनाएर जिल्ला समन्वय समितिलाई अझै प्रभावकारी बनाउन माग गरेका थिए ।
कार्यक्रममा प्रतिनिधि सभा सांसदद्धय गंगाबहादुर दोङ्ग र नविना लामा, प्रदेश सभा सांसदहरु रत्न ढकाल, चन्द्र लामा, लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष सिता सुन्दास, पार्टी नेताहरु सुर्यमान दोङ्ग, शंखबुद्ध लामा, भिमबहादुर लामा, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला न्यायाधीश अर्जुनप्रसाद अधिकारी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष विनोद सापकोटाले जिल्ला सभामा प्रस्तुत भएका मार्गदर्शनहरुलाई कार्यान्वयनका लागि स्थानीय, प्रदेश र केन्द्रिय सरकारसँग माग गरेका छन् ।
सभामा चालु आव २०७४÷२०७५ जेष्ठ मसान्तसम्मको आय ब्ययको यथार्थ, आषाढ मसान्तसम्मको शंशोधित अनुमान तथा आगामी आवको प्रस्तावित आय ब्ययको विवरणको प्रस्ताव पेश भएको थियो । सभाअध्यक्षबाट जिल्ला सभाको बैठकको कार्यसूची, बैठक संचालन कार्याविधि २०७५, कार्याविधि माथी छलफल र पारित, नीति तथा कार्यक्रम छलफलका लागि प्रस्तुत, जिल्ला अनुगमन कार्याविधि, जिल्ला विकास अवधारणा, जिल्ला समन्वय समितिको संगठनात्मक संरचना र दरवन्दी सम्वन्धी प्रस्ताव पारित भएको थियो । सभामा जिल्लामा रहेका १३ स्थानीय सरकारका प्रमुख उपप्रमुख सहभागि थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।