नेपाल समाचारपत्र , विराटनगर
मोरङको बुढीगंगा–४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूट अब प्राविधिक विश्वविद्यालय भएको छ । विभिन्न प्राविधिक विषय अध्यापन हुँदै आएको सो इन्स्टीच्यूटलाई प्रदेश नम्बर १ कै उत्कृष्ट प्राविधिक शिक्षालय बन्ने दावी गरिएको छ ।
१ नम्बर प्रदेश सरकारले उत्कृष्ट प्राविधिक विश्व विद्यालय बनाउने घोषणा गरेको छ । प्रदेश सरकारले सो इन्स्टीच्यूटलाई विश्व विद्यालयका रुपमा विकास गर्न आर्थिक वर्ष २०७५/७६ को निति तथा कार्यक्रममा समेटेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको ९८ औँ जन्म जयन्तिको अबसरमा गएको आयोजित समारोहमा मुख्य मन्त्री शेरधन राईले प्रदेशलाई चाहिने प्राविधिक जन शक्ति सोहि विश्व विद्यालयले तयार गर्ने बताउनुभयो ।
सो प्राविधिक विश्वविद्यालयबाट उत्पादित जनशक्ति अन्य प्रदेशमा समेत उपलब्ध गराईने दावी गर्दै उहाँले भन्नुभयो–‘यहाँका जनशक्ति रोजगारका लागि अन्तर्राष्ट्रिय श्रम बजारमा समेत पुग्नेछन् ।’ करिब २१ विघा क्षेत्रफलमा सञ्चालन भईरहेको मनमोहन स्मृति पोलिटेक्निकमा सिभिल इन्जिनियरिङ, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, लगायत भोकेसनल ट्रेनिङ सञ्चालनमा छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।