विनोद सिंह विष्ट, बैतडी
बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक बर्षदेखि नगर शिक्षकको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक बर्षका लागि पारित गरेको नीति तथा कार्यक्रम मार्फत यस्तो व्यवस्था गर्ने तयारी गरिएको हो ।
नगर शिक्षकको व्यवस्था गर्ने नीति लिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबीन अधिकारीले बताउनुभयो । आगामी आर्थिक बर्षलाई शैक्षिक गुणस्तर सुधार गर्न आधार बर्ष मनाइने पनि पाटन नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भईरहेकाले शिक्षालाई बिशेष जोड दिदै यस्तो व्यवस्था गर्ने तयारी गरिएको नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो ।
शैक्षिक गुणस्तर अभिवृद्धि मापनका लागि नगर क्षेत्रका हरेक विद्यालयमा प्रत्येक २/२ महिनामा परीक्षा सञ्चालन गर्ने गरिने उहाँको भनाई छ । नगरपालिका भित्रका सबै बिद्यालयका प्रधानाध्याक तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुसंग सयुक्त छलफल पछि यस्तो निर्णय गरिएको चन्दले बताउनुभयो ।
कक्षा १ देखि ९ सम्मको बार्षिक परिक्षाको प्रश्नपत्र निर्माण गर्ने, परिक्षा सञ्चालन तथा अनुगमन, उत्तरपुस्तिका जाँच्ने तथा नतिजा सार्वजनिक गर्ने लगायतका सबै काम नगरपालिकाले नै गर्नेछ । यो व्यवस्था अनिवार्य गरिएपछि नगरपालिका भित्रका उत्कृष्ट बिद्यालय, नमूना बिद्यालय र उत्कृष्ट बिद्यार्थी छनोटका लागी सजिलो हुने नगरपदाधिकारीको विश्वास छ । त्यस्तै कृषि, स्वास्थ्य, स्वरोजगारका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।