- रामहरि श्रेष्ठ,
ओखलढुंगा । ओखलढुङ्गामा जारी भिजन आईडल ‘सिजन २’ को विधागत प्रतिस्पर्धा जारी छ । भिजन नेपालको आयोजनामा सञ्चालित आईडलमा असार १५ गतेदेखि निरन्तर विधागत प्रतिस्पर्धा भईरहेको हो ।
‘सिजन २’ को पहिलो चरणको अडिसनबाट छानिएका ९९ जनाले स्वदेशी गीत, सदावहार, लोक, आधुनिक तथा पप लगायतका विधामा प्रस्तुती देखाईरहेको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले जानकारी दिए । स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाको थप विकास गरि कला र संस्कृतीको विकासमा जोड दिने उद्धेश्यले यस्ता अभियानहरु सञ्चालन गर्ने गरिएको न्यौपानेको भनाई छ ।
ओखलढुङ्गामा गतवर्षबाट भिजन नेपालले भिजन आईडलको सुरुवात गरेको हो । आयोजकका अनुसार ओखलढुङ्गा, खोटाङ, उदयपुर र सिन्धुलीका नव प्रतियोगिहरुले प्रतिस्पर्धा गरिरहेका छन् । चार जिल्लाका विभिन्न स्थानहरुमा भएको अडिशनमा ३ सय भन्दा बढीले भाग लिएका थिए । पहिलो चरणको अडिशनबाट छनौट भएकालाई मात्र दोश्रो चरणको प्रतिस्पर्धामा सहभागि गराईएको पनि आयोजकले जनाएको छ ।
विभिन्न विधागत प्रतिष्पर्धावाट उत्कृष्ट १० छनौट गरिने छ । उत्कृष्ट प्रतियोगिहरुलाई रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरी गीत रेकर्डिङमा सहयोग गरिने भिजन नेपाल ओखलढुङ्गाले जनाएको छ । भिजन नेपालको स्थापना दिनको अवसर पारेर अडिशनको फाईनल साउन २ गते हुनेछ ।
अडिशनमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने अडिशनमा सहभागिहरु सबैलाई प्रमाणपत्रको व्यबस्था गरिएको छ ।
आईडलमा गायकद्वय सचिन राई र प्रविण खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । भिजनले वर्षमा १ पटक माघ–फागुनमा नृत्य र १ पटक असार–साउनमा गायन प्रतियोगिता आयोजना गर्दै आएको छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।