कृष्णउदास खनाल
वीरगन्ज । वीरगन्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले करमा भारीछुट पाएको छ ।
एकैपटक ठूलो रकम छुट दिएर वीरगन्ज महानगरपालिकाले उक्त कलेजलाई उन्मुक्ति दिएको भन्दै बिरोध भएको छ । २०६० सालदेखि वीरगन्ज महानगरपालिका१५ भेडियाहीमा सञ्चालित कलेजले विभिन्न बहानामा घरजग्गा कर, व्यवसाय कर तिर्न अटेर गर्दै आएको थियो । तत्कालिन वीरगन्ज नगरपालिकाले २०६७, २०६८, २०७० सालमा र त्यसपछि पनि पत्र पठाएर कर तिर्न आग्रह गर्दा समेत नेशनल मेडिकल कलेजले अटेर गरेको थियो ।
आर्थिक वर्ष २०७३र७४ सम्म कलेजले पहिलेको घरजग्गा कर तथा ४ वर्षदेखि लागु गरिएको एकीकृत सम्पत्ति करबापत महानगरलाई १० करोड ३८ लाख ११ हजार तिर्नुपर्ने थियो ।
तर, वीरगन्ज महानगरपालिकाले विवाद सल्टाउने नाममा एमाले (हाल नेपाल कम्युनिस्ट पार्टी) नेता समेत रहेका बसुरुद्दिन अन्सारीको कलेजलाई घरजग्गा तथा एकीकृत सम्पत्ति करमा एकैपटक ६ करोड छुट दिएको छ । महानगरको दोस्रो नगरसभाले ४ करोड ९४ लाख ७८ हजार २ सय ६९ रुपैयाँ ४२ पैसा बुझाउनुपर्ने निर्णय गरेको हो । कलेजले पनि असार १५ गते रकम बुझाएको छ ।
कलेजले असार १५ गते ३ करोड ५९ लाख १४ हजार ३ सय ५७ रुपैयाँ पाँच पैसा जम्मा गरेको थियो । यसअघि कलेजले करबापत २०७१ माघ ३ गते १ करोड २९ लाख ३२ हजार र २०७२ साउन ७ गते ६ लाख ३१ हजार रकम बुझाइसकेको थियो ।
यद्यपी वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगीले भने विगतमा स्याटलाइटबाट तस्वीर खिचेर, अनुमानको आधारमा कर निर्धारण गरिएको र सडकमा जोडिएको र पछाडिको जग्गाको करको दर पनि एकै बनाईएकोले करमा छुट भएको बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।