नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा चलाउन तयारी गरिएको लाईट स्टोन ठगी प्रकरणमा मुद्दामा अर्का व्यक्ति पनि पक्राउ परेका छन् । सो मुद्दाको अनुसन्धनका क्रममा हिरासतमा रहेका व्यक्तिको बयानका आधारमा अर्का व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका– ५ मा स्थायी बासोबास भएका ४३ वर्षीय अर्जुन पौडेल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार उनलाई काठमाडौ महानगरपालिका– ३० डिल्लीबजारबाट पक्राउ गरी ल्याइएको हो ।
सो मुद्दामा गोरखा अजिरकोट गाउपालिका– ४ बस्ने वर्ष ५३ को चन्द्रबहादुर तामाङलाई बेसीशहरबाट पक्राउ गरी जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान थालिएको थियो । सोही क्रममा लिइएको बयानमा तामाङले पौडेललाई पोलेको प्रहरी निरीक्षक अधिकारीले बताउनु भयो ।
उहाँका अनुसार तामाङलाई वेसीशहर नगरपालिका– ७ स्थित घनपोखरा गेष्ट हाउसबाट असार १२ गते पक्राउ गरीएको हो । उनलाई सो होटलको माथिल्लो तलाको कोठामा केही व्यक्तीहरू बिच ठगी गर्ने मनसायले कुनै वस्तुको किनबेचका लागि मोलमोलाई भइरहेको प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनु भयो ।
उहाँका अनुसार प्राप्त सूचनाका आधारमा तत्काल सो गेष्ट हाउसमा चेकजांच गर्दा तामाङ बसेको लोवेडको सिरानी मुनी कागजमा कपासले बेरेको अवस्थामा अध्याँरोमा उज्यालो दिने सेतो रङ्गको अण्डाकार ‘लाईट स्टोन’ भनिएको वस्तु फेला परेको थियो ।
तामाङका विरुद्धमा ठगी मुद्दामा अनुसन्धान चलाएकोमा उनले अधिकार प्राप्त अधिकारी समक्ष वयान दिँदा पोलमा पारेको हुँदा पौडेललाई पक्राउ गरिएको प्रहरी निरीक्षक अधिकारीले बताउनु भयो । उहाँका अनुसार पौडेललाई जिल्ला अदालतबाट ९ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।