काठमाडौ । गीतकार प्रेमप्रसाद राजभण्डारीको रचना र सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा आधुनिक गीतहरूको सङ्ग्रह ‘फूलझैँ जीवन’ एक समारोह बिच बिमोचन गरिएको छ ।
प्रमुख अतिथि तथा बरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधानले शनिबार राजधानीमा एक कार्यक्रमकबीच उक्त एल्बमको बिमोचन गर्दै नेपाली गीत मौलिक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली गीत संगीत नेपाली जीवन र जगतमा आधारित रहेर निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
‘नेपाली गीत–संगीतको ईतिहास गौरवले भरिएको छ, हाम्रो देशको पहिचान भनेको नेपाली गीत संगीत पनि हो, त्यसैले गीतहरू राम्रा बन्नका लागि शब्द मौलिक हुनुपर्छ, पछिल्लो समय नेपाली गीत संगीतलाई आधुनिकता दिने नाममा अश्लिलतातर्फ धकेल्ने प्रयत्न भैरहेको छ, यस कार्यप्रति युवा सर्जकहरू गम्भीर हुनुपर्छ’ बरिष्ठ संगीतकर्मी प्रधानले भन्नुभयो ।
बरिष्ठ संगीतकर्मी प्रधानले एल्बमका गीतहरू साह्रै हृदयस्पर्सी भएको बताउदैँ ‘फूलझैँ जीवन’ आधुनिक गीति सङ्ग्रहमा हाम्रो समयको गीतमा पाइने मिठास मैले पाएको छु’ भन्नुभयो ।
कार्यक्रममा एल्बमको बारेमा डा. नेत्र एटमले समीक्षा गर्नुभएको थियोे । ‘एल्बमका गीतहरू फरक फरक शैलीका छन् । यहाँ समावेश गरिएका गीत सुन्दा आनन्द आउने अनि वियोगान्त र संयोगान्त भावका समेटिएका छन्’– उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद विष्णु शर्मा र सुजिता शाक्यको समेत उपस्थिति रहेको थियो । साथै एल्बम विमोचन कार्यक्रममा गायक भविन ढुंगाना, कृष्णभक्त राई र गायिका सहिमा श्रेष्ठले आफ्नो साङ्गीतिक प्रस्तुती दिनुभएको थियो ।
सङ्गीतकार सन्तोष श्रेष्ठले गीतमा विविध भाव भएकोले सङ्गीत गर्दा आनन्दभूति भएको र यस एल्बममा फरक पन दिन सकेको बताउनुभयो । गीतकार प्रेमप्रसाद राजभण्डारीले आफू विदेशमा बसे पनि आफ्नो जन्मभूमिको मायाले सताएको कारण गीत लेख्न प्रेरित भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार सुमन बैरागीले गर्नुभएको थियोे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।