हेटौंडा,(नेस)। सरकारले सञ्चालन गरेको भर्ना अभियानमा मुख्यमन्त्रीसहित प्रदेश मन्त्रीहरुले आआफ्नो गृह जिल्लामा विद्यार्थीको व्यक्तिगत अभिभावक बने । समग्र शिक्षामा राज्यको दायित्व रहने चेत भुलेर देशव्यापीरुपमा ‘उत्साहजनकरुपमा’ उक्त अभियान सञ्चालन गरियो ।
सरकारले २०७५ बाट विद्यालय भर्ना अभियान चलाउँदै यस्तो अभियानले शिक्षामा उत्प्रेरणा प्रदान गर्ने विश्वास लिएको थियो । तर, तामझामसाथ ‘अभिभावकत्व’ ग्रहण गरेपछि ती जिम्मेवार नेतागण सम्बन्धित विद्यालय वा अभिभावकत्व ग्रहण गरिएका विद्यार्थीको छाप्रो÷टहरामा पुगेर सोधपुछ र थप सहयोग त परै जाओस्, वास्तासमेत नगरिएको गुनासो व्याप्त छ ।
मकवानपुरको मनहरी–६ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरीका २ विद्यार्थीको अभिभावक बनेका प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल त्यसपछि सोधपुछका लागि एक पटक पनि विद्यालय टेक्नुभएको छैन ।
सरकारी निर्णय र निर्देशनअनुसार विद्यालय भर्ना अभियानताका जनप्रतिनिधिले अभिभावकत्व ग्रहण गर्नुपर्ने भएपछि चैत ५ गते विद्यालयमै पुगेर मनहरी–६, जोगीटारका ६ वर्षीय सञ्जित ब्लोन र जेशिका प्रजाको ‘अभिभावक’ बनेर कक्षा–१ मा भर्ना गर्नुभएका मुख्यमन्त्री पौडेल हालसम्म एक पटक पनि विद्यार्थीको अवस्था बुझ्न विद्यालय जानुभएको छैन ।
विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर मुक्तानले भन्नुभयो– मुख्यमन्त्रीज्यू एकपटक पनि फर्किएर आउनु भएको छैन । प्रधानाध्यापक मुक्तानले शैक्षिक सामग्री, पोशाक मुख्यमन्त्रीले उपलब्ध गराएको जानकारी दिनुभयो । ‘बिरामी हुँदा खबर गर्नू’ भनेपनि सामान्य ज्वरो आएको अवस्थामा खबर नगरिएको प्रअ मुक्तानको भनाइ छ ।
प्रधानाध्यापक मुक्तानले हालसम्म मुख्यमन्त्री विद्यार्थीको अवस्था बुझ्न नआएको बताए पनि मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले भर्ना गरेको केही हप्तापछि मुख्यमन्त्री विद्यालयमा पुगेरे विद्यार्थीको अवस्थाबारे जानकारी लिएको दाबी गर्नुभयो ।
उहाँले एक हप्ताअघि आफू सोधपुछ गर्न गएको स्वीकार्दै समय/समयमा सम्पर्कमा रहेर विद्यार्थीबारे बुझ्ने गरिएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले मनहरीकै महेन्द्रकिरण माविमा सुमन चेपाङको पनि आफू अभिभावक बनेर भर्ना गर्नुभएको थियो ।
प्रदेशसभा सांसद् ओम घलानले सुनिल चेपाङलाई आफू अभिभावक बनेर भर्ना गर्दा सांसद् विरोध खतिवडाले अभिभावक बनेर विश्वास थोकर, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले आर्यन बिक, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले खुशी घिमिरे, वडा सदस्य पुष्कर सुवेदी तथा रामप्रसाद ढकालले क्रमशः गंगा प्रजा र विक्रम थिङको अभिभावक बनेर विद्यार्थी भर्ना गर्नुभएको थियो ।
प्रतिनिधिसभा सांसद् कृष्णप्रसाद दाहालले हेटौंडा–५ मा रहेको बालज्योति माविमा आफू अभिभावक बनेर विद्यार्थी भर्ना गराउनुभयो । दाहालले बालज्योतिमा ययुव राईलाई आफू अभिभावक बनेर भर्ना गर्नुभएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।