कृष्ण आचार्य, चितवन
चालु आर्थिक वर्षमा जिल्ला अदालत चितवनले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । चालु आर्थिक वर्षको असार २४ गतेसम्म ६७ दशमलब २३ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ भने गत वर्ष ७५ प्रतिशत मात्रै फ्छ्र्यौट भएको थियो । चितवन जिल्ला अदालतमा ६ जना न्यायाधीशले मुद्दा किनारा लगाउँदै आएका छन् ।
जम्मा तीन हजार ४३१ लगतमध्ये दुई हजार ३०७ मुद्दा फछ्र्योट भएको चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले जानकारी दिए । उनले एक हजार १२४ मुद्दा अझै पछ्र्यौट हुन बाँकी रहेको बताए । आर्थिक वर्षको योजना भन्दा बढी फैसला कार्यान्वयन भएको शर्माको भनाइ छ ।
मेलमिलाप र कमजोर तथा असहायलाई अदालतले विशेष प्राथमिकता दिएको उनले बताए । यसवर्ष अदालतको काम कारबाही सन्तोषजनक रहेको र आगामी वर्षमा झन् प्रभावकारी बनाइने उनले प्रतिबद्धता जनाए । ‘अदालतमा दुई वर्ष नाघेका जम्मा पाँचवटा मात्रै मुद्दा छन्’ उनले भने, ‘न्याय सम्पादनलाई अझै छिटोछरितो बनाउँछौं ।’ ७७ जिल्लामा मेलमिलापको लागि चितवन अग्रणी जिल्ला भएको उनले बताए ।
अदालतले वार्षिक कार्ययोजनाअनुसार आर्थिक वर्ष २०७४/७५ को यो अवधिमा दुई हजार ३०७ मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक वर्षमा दुई हजार ३२० मुद्दा फछ्र्यौटको लक्ष्य लिएको अदालतले ९९.४३ प्रतिशत मुद्दा मात्रै फछ्र्यौट गरेको हो । अझै एक हजार १५८ मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । जसमध्ये एक वर्ष भित्रका एक हजार २५ मुद्दा, एक वर्ष नाघेका १०३ मुद्दा, १८ महिना नाघेका २५ मुद्दा र दुई वर्ष नाघेका पाँचवटा मुद्दा रहेका छन् ।
आर्थिक वर्षमा फैसला भएका ३४७ मुद्दामध्ये २५२ मुद्दा कार्यान्वयनमा आएका छन् भने ९५ मुद्दा अझै कार्यान्वयन हुन बाँकी छ । अदालतले ११०.४३ प्रतिशत निवेदन फछ्र्यौट गरेको न्यायाधीश शर्माले बताए ।
यस्तै अदालतले फैसला कार्यान्वयन विशेष अभियानमार्फत् १२ वर्ष ११ महिना १८ दिन कैद र १८ लाख ९८ हजार २५६ रुपैयाँ असुल गरेको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । कैद र जरिवानातर्फ दुई हजार ९९१ वर्ष तीन महिना दुई वर्ष लगतमध्ये २५ वर्ष ५ महिना एक दिन कैद फछ्र्यौट भएको उनले बताए । अझै दुई हजार ४६५ वर्ष १० महिना एक दिन कैद फछ्र्याैट हुन बाँकी रहेको पौडेलको भनाइ छ ।
जरिवानातर्फ १४ करोड १३ लाख १५ हजार ८०९ रुपैयाँ लगत मध्ये १४ करोड १३ लाख १४ हजार ८०९ रुपैयाँ फर्छौट भएको अदालतको तथ्यांकमा उल्लेख छ ।
जिल्ला अदालत चितवनमा पछिल्ला वर्षहरुमा तीव्ररुपमा मुद्दा फछर्यौट भैरहेको अधिवक्ता उद्धव लोहनीले बताए । उनले जिल्लामा वकिलहरुको सक्रियता र अदालतको काम कारबाहीमा आएको सुधारले न्याय सम्पादन छिटो भएको बताए ।
अदालतले आर्थिक वर्षमा न्यायिक सम्वाद कार्यक्रम, न्याय क्षेत्र समन्वय समितिको बैठक, योजना कार्यान्वयनका सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया, कर्मचारी प्रशिक्षण र काउन्सिलिङका कार्यक्रमहरु सञ्चालन गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।