धनवीर दाहाल, रुकुम पश्चिम ।
रुकुम पश्चिमको त्रिबेणी गाँउपालिकाका वडाहरुले धमाधम सार्वजनिक सुनुवाई गर्न थालेका छन् । सोही क्रममा .त्रिवेणी गाउँपालिका वडा नं. १० को सार्वजनिक सुनुवाई वडा कार्यालय भुम्के पेउघामा सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिकाको आयोजना तथा हरप्लेस नेपाल रुकुमको सहजिकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाईमा उठेका गुनासा तथा सुझावहरुमाथि बहस, छलफल तथा सुनुवाई पछि त्यसको सम्बोधन गर्न ६ बुँदे प्रतिवद्धतापत्र समेत सार्वजनिक गरिएको छ ।
जसमा जनप्रतिनिधिहरुको मासिक रुपमा नियमित बैठक बसी आपसी समन्वय र सहकार्य बढाउँदै वडास्तरमा हुने विभिन्न योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन गर्ने, सल्लाह सुझाव दिने र जनताका गुनासो सुनुवाई गर्ने व्यवस्था गरिने उल्लेख गरिएको छ ।
त्यस्तै विभिन्न योजनाहरु सम्पन्न गरिसकेपछि उपभोक्ताहरुले भुक्तानी लिँदा पेश गर्नुपर्ने कागजात र पूरा गर्नुपर्ने मापदण्डबारे जानकारी नहुँदा मर्कामा परेको गुनासो आएकोले उक्त समस्या आगामी दिनमा आउन नदिन उपभोक्ताहरुलाई त्यसबारे जानकारी गराउने, पूराना योजनाहरु उधारोमा काम सम्पन्न भईसकेर पनि बजेटको स्रोत नभएको सम्बन्धमा ती योजनाहरुको पनि सामाजिक परीक्षण गरेपछि आवश्यक बजेट व्यवस्था गर्न पहल गर्ने समेत प्रतिवद्धता पत्रमा समावेश गरिएको छ ।
साथै योजनाको काम पूरा गरी अनुगमन तथा सामाजिक परीक्षण सम्पन्न गरेपछि मात्र भुक्तानीका लागि सिफारिस गर्ने, वडा कार्यालयले सबै परियोजना तथा संघ संस्था अन्तर्गत गठन हुने उपभोक्ता समितिमा सबै दृष्टिकोणले सहभागितामूलक बनाउने र योजना छनोट गर्दा समन्वय गरेर मात्र गर्ने र गाउँपालिकामा हुने सार्वजनिक सुनुवाईमा सक्रिय रुपमा सहभागी हुने तथा वडा कार्यालयमा पनि चौमासिक रुपमा नियमित सार्वजनिक सुनुवाई गर्ने प्रतिवद्धता गरिएको छ ।
कार्यक्रममा वडा अध्यक्ष शेरबहादुर खड्का र सचिव निराजन शर्माले यस आर्थिक वर्षमा वडामा सम्पन्न विभिन्न योजना, कार्यक्रम तथा सेवा प्रवाहका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । त्यसपछि सहभागीहरुले आफ्ना गुनासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया दिएपछि पुनः त्यसमाथि छलफल गर्दै सुनुवाई सम्पन्न भएको हो ।
हरप्लेस नेपाल रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले सहजिकरण गर्नुभएको उक्त सार्वजनिक सुनुवाईमा वडा सदस्यहरु पदमबहादुर खत्री, टेकबहादुर खड्का, मैसरी खड्का र रिग्मी नेपालीका साथै करिब ५० जना सर्वसाधारणको सहभागिता रहेको थियो ।
यसअघि त्रिवेणी गाउँपालिका अन्तर्गत वडा नं. १, ३, ५, ६ र ७ को सार्वजनिक सुनुवाई सम्पन्न भईसकेको र अब २, ४, ८ र ९ को गर्न बाँकी रहेको हरप्लेस रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।