ब्रसेल्स ।
दुई स्विडिस फुटबल प्रशंसकको गोली हानी हत्या गर्ने एक हमलाकारीलाई प्रहरीले मङ्गलबार गोली हानी मारेको छ । बेल्जियमका प्रधानमन्त्रीले दुई स्विडिस नागरिकको गोली हानी हत्या गरिएको घटनालाई ‘आतङ्कवादी पागलपन’ भन्दै निन्दा गर्नुभएको छ ।
मध्यउत्तर ब्रसेल्समा रातभर भएको खोजी कार्यमा संदिग्धलाई घेरेर ऊमाथि गोली हानिएको थियो । पछि गोलीको घाउका कारण उसको मृत्यु भएको बताइएको छ ।
“ब्रसेल्सको आतङ्कवादी हमलाको अपराधी पहिचान भयो र उसको मृत्यु भयो”, आन्तरिक मामिलामन्त्री एन्नेलिस भर्लिन्डेनले सामाजिक सञ्जालमा भन्नुभयो, “गत राति र आज बिहान द्रुत र निर्णायक काम गरेकामा हामी जासुसी र सुरक्षा सेवाका साथै सरकारी वकिलहरूलाई धन्यवाद दिन्छौँ ।”
यसअघि प्रधानमन्त्री अलेक्जेन्डर डि क्रुले संदिग्ध हत्यारा ट्युनिसियाली मूलको रहेको र ऊ गैरकानूनीरूपमा बेल्जियममा बस्दै आएको बताउनुभएको थियो । दुई स्विडिस नागरिकको हत्या गरेपछि बन्दुकधारीले सामाजिक सञ्जालमार्फत आफू इस्लामिक स्टेट चरमपन्थी समूहबाट प्रेरित भएको बताएका थिए ।
“हिजो भएको आतङ्कवादी हमला कायरतापूर्ण थियो, आतङ्ककारीले दुई स्विडिस फुटबल प्रशंसकलाई निशाना बनाएको थियो”, तेस्रो व्यक्ति ट्याक्सी चालक गम्भीर घाइते भएको जानकारी दिँदै प्रधानमन्त्री क्रुले पत्रकार सम्मेलनमा भन्नुभयो ।
“आतङ्कवादले अन्धाधुन्ध आक्रमण गर्छ”, उहाँले भन्नुभयो, “आतङ्कवादको उद्देश्य हाम्रो समजमा डर, अविश्वास र विभाजन उत्पन्न गर्नु हो, आतङ्कवादीलाई थाहा हुनुपर्छ उनीहरूले कहिल्यै आफ्नो लक्ष्य हासिल गर्न सक्दैनन्, उनीहरूले हामीलाई कहिल्यै झुकाउन सक्दैनन्, तिनीहरूको घृणा र हिंसाले उनीहरूको शक्तिहीनता मात्र प्रमाणित गर्दछ ।”
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।