एजेन्सी ।
प्यालेस्टिनी क्षेत्र गाजामा रहेको अल अहली अस्पतालमा मंगलबार भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । अस्पतालमा गरिएको यस प्रकारको क्रुर र अमानवीय आक्रमणको विश्वव्यापी निन्दा भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोषारोपण गरेका छन् । घटनाका बारेमा जिम्मेवारी लिन दुबै पक्षलाई निकै सकस भइरहेको छ । गाजा क्षेत्रमो अस्पतालमा आक्रमण भएकाले सो आक्रमणमा इजरायली सेनाको संलग्नता रहेको आशंका गरिएको छ तर घटनामा कसको सहभागिता रहेको थियो भन्ने बारेमा एकिन खुल्न नसकेको एजेन्सीहरुले जनाएका छन् ।
इजरायली आक्रमणबाट बच्नका लागि अस्पताललाई आश्रयस्थलका रूपमा समेत प्यालेस्टिनी नागरिहरूले प्रयोग गर्दै आएका थिए । विभिन्न सञ्चारमाध्यमसँग कुराकानी गर्दै अस्पतालमा कार्यरत एक चिकित्सकले करिब ४ हजार जनाले त्यहाँ शरण लिएको जनाएका छन् । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले अस्पतालमा भएको आक्रमणपछि तीन दिनको शोक घोषणा गरेका छन् ।
हमासले हवाई हमलालाई ‘युद्ध अपराध’ भन्दै इजरायललाई दोषी ठहर गरेको छ । इजरायलले भने हमासलाई नै दोष लगाएको छ । इजरायलले आफ्नो सेनाको संलग्नतालाई अस्वीकार गर्दै अर्को ‘आतंकवादी समूह प्यालेस्टिनी इस्लामिक जिहाद’ले प्रहार गरेको रकेट विस्फोट भएको दावी गरेको छ । गाजाको दोस्रो ठूलो लडाकु समूह प्यालेस्टिनी इस्लामिक जिहादले आफ्नो संलग्नताको आरोप ठाडै अस्वीकार गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा विभिन्न देश तथा नेताहरूले अस्पतालमा भएको हमलाको निन्दा गर्दै विज्ञप्ति जारी गरेका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अस्पतालमा भएको आक्रमणको निन्दा र भत्र्सना गर्दै त्यसलाइ क्रुरताको संज्ञा दिनुभएको छ ।
उहाँले भन्नुभएको छ– ‘डब्लूएचओ अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ । हामी तत्काल सर्वसाधारणको सुरक्षा र स्वास्थ्योपचारको माग गर्छौं ।’ रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गाजाको अल अहली अरब अस्थताल ध्वस्त भएको र सयौको ज्यान गएको घटनाले स्तब्ध र भयभीत भएको बताएको छ । उसले यस्ता क्रुर आक्रमण रोक्न आग्रह गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।