
बुटवल।
तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सव हुने भएको छ । सबल अर्थतन्त्रको आधार, कृषि, एवं पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ व्यापार मेला आयोजना गर्न लागिएको हो।
आउँदो मंसिर १ गतेदेखि मेला सञ्चालन हुने तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
मंसिर १२ गतेसम्म सञ्चालन हुने मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक गुणनिधि भण्डारी माधवले पत्रकार सम्मेलनमा बताए ।
प्रदर्शनीमा कृषिमा हुंदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासंगै पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुने अध्यक्ष भण्डारीले बताए । मेला तथा महोत्सवका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्वन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तरक्रिया गरिने अध्यक्ष भण्डारीले जानकारी गराए । मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३ सय स्टल रहने छन् ।
मेला तथा महोत्सवलाई मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकारहरुको सांगेतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिता हुनेछन् । मेला संचालनका संघका अध्यक्ष गुणनिधि भण्डारीको संयोजकत्वमा ५५५ सदस्यीय मूल समिति, सल्लाहाकार समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।
तिलोत्तमा–५ मणिग्राममा संचालन हुने महोत्सवका लागि प्रदर्शनी स्थलमा सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्टल, गेट तथा अन्य निर्माणको काम भइरहेको छ । मेलामा ३ सय स्टल रहने बताइएको छ ।१२ दिनसम्म चल्ने मेलामा ५ लाख दर्शकले अवलोकन गर्ने र १५ करोड आर्थिक कारोबार हुने आयोजकहरुले बताएका छन् ।
सरकारले तिलोत्तमा नगरपालिका घोषणा गरेलगत्तै २०७१ सालमा स्थापित तिलोत्तमा उद्योग वाणिज्य संघले २०७३ सालमा पहिलो पटक र २०७६ सालमा दोस्रो औद्योगिक व्यापार मेला गरेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।