
काभ्रे।
धुलिखेल नगरपालिका वडा नम्बर ४ स्थित २८ किलोमा रहेको सामाजिक जागरण मञ्चले शुभ दीपावली, नेपाल सम्वत ११४४ र छठ पर्वको अवसर पारी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले चाडपर्वहरु संस्कृति जर्गेना गर्ने तथा पुस्तान्तरणका लागि अनुकरणीय हुने बताए । पुस्ताहरुलाई संस्कृति, रीतिरिवाजका बारेमा जानकारी गराउन तथा धर्म र संस्कृतिको संरक्षण, प्रर्वद्धनका लागि भातृत्व कायम राख्न, सद्भाव र एकताका लागि महत्त्वपूर्ण हुने उपकुलपति डा. भोला थापाले बताए ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले चाडपर्वहरु सद्भाव केन्द्रित हुने भएकाले नागरिकहरूको सुख र समृद्धीका लागि महत्त्वपूर्ण हुने बताए ।
चियापान कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, वडा अध्यक्ष उत्तम तिमल्सिना, स्थानीय राजनीतिक दलका प्रमुखहरु नेपाली काँग्रेसका सभापति विदुरबहादुर बस्नेत, नेकपा एमालेका अध्यक्ष दयाराम महत, रास्वपाका रविन्द्र कर्माचार्य, समाजबादीका हरिगोपाल प्रधानाङ्ग, स्थानीय समाजसेवीहरु, शिक्षासेवीहरु लगायतको सहभागिता रहेको थियो।
संस्थाका अध्यक्ष पृथ्वी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष ईश्वर शर्मा, सचिव कमल राय, कोषाध्यक्ष विष्णु शर्मा लगायतले सामाजिक जागरण मञ्चले सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गर्ने बताए ।
अध्यक्ष थापाले काठमाडौँ विश्वविद्यालय र धुलिखेल सामुदायिक अस्पताल बीच उत्पन्न समस्याको कारण र त्यसले पार्ने असरका बारेमा सरोकारवाला निकायले ध्यान दिन सुझाव दिए । दुबै संस्थाको एकताले मात्रै शिक्षा र स्वास्थ्यको गुणस्तरीयता कायम हुने भएकाले एकतामा जोड दिन थापाले अनुरोध गरे । केही दिन देखि धुलिखेल अस्पताल र विश्वविद्यालय बीचको सम्झौता भंग हुने विषयले चर्चा पाएको थियो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।