
धादिङ
ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ का प्रकाश दुवाडी कृषि बागवानीमा स्नातकोत्तर गरेर पनि गाउँमा कृषिबाट आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेर काम गरेका छन् ।
आफ्नो बारीमा ५ हजारभन्दा बढी सयपत्री रोपेर विदेशबाट आयात गर्ने फूललाई प्रतिस्थापन गर्न लागेका दुवाडी परिवार सहितको सहयोगमा गरिएको फूलखेती र नर्सरी राखेर गाउँमै पनि कृषि गरेर मज्जाको आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्।
२ वर्षदेखि तिहारको बेला उत्पादन हुनेगरि सयपत्री फूल खेती गरेर बिक्री गर्ने गरेको दुवाडीले नेपाल समाचारपत्रलाई बताए ।
धादिङबेसी स्थित आफैँले उत्पादन गरेको नर्सरीको बिरुवा बिक्री गर्ने र सयपत्री माला उन्न व्यस्त रहेको अवस्थामा भेटिएका दुवाडी पढेर विदेश जानु पर्दैन गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भनेर आफूलाई प्रस्तुत गर्न सक्ने पात्र भएका छन् ।यस वर्ष सयपत्री खेतीबाट तिहारमा मात्र १२ हजार सयपत्री माला र १ हजार मखमली माला बिक्री गर्ने योजनामा काम गरिरहेको उनले बताए ।
डेनिसजातको सयपत्री खेती गरेर गाउँमा अरुका लागि हेर्न लायक बनाएका दुवाडी परिवार बजारमा पाइने प्लाष्टिक माला प्रतिबन्ध लगाएपछि हर्षित भएका छन्। गतवर्षको तुलनामा यस वर्ष स्थानीय प्रशासनले प्लास्टिक मालाको आयातमा प्रतिबन्ध लगाएपछि सयपत्री र मखमलीको मालाको व्यापार बढ्ने अवस्थामा छ । दुवाडीले माला उनेर बिक्री गर्न लागेको जानकारी पाएर माला खरिद गर्न आउनेहरु समेत पसलमै आउन थालेको उनको भनाइ छ ।
यसैगरि ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ कुमालटारीमा रहेको बालादेवी माध्यमिक विद्यालयले पनि पढ्दै कमाउँदै अन्तरगत उत्पादन गरेको माला बजार बिक्री गर्न लान ठिक्क पारेको छ ।शिक्षक र विद्यार्थी मिलेर विद्यालय वरपर सयपत्री र मखमली फूल खेती गरिएको थियो ।
तिहारलाई लक्षित गरी १५ हजार सयपत्री र पाँच हजारभन्दा बढी मखमली फूल खेती गरेर बजार बिक्री गर्न लान लागेको विद्यालयका प्रधानाध्यापक शिवलाल श्रेष्ठले जानकारी दिए ।
विद्यार्थीलाई व्यवहारिक ज्ञान हुने भएकोले विद्यालय सुधार योजनामा राखेर फूल खेती गरेको बताइएको छ ।
विद्यालयलाई वडा कार्यालयले समेत दुई लाख रुपैयाँ दिएपछि हौसिएर फूलखेतीमा लागिएको थियो । फूलखेतीले यस वर्ष तीन लाखभन्दा बढी आम्दानी लिने लक्ष्य लिएका र कक्षा ८ देखि पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत विद्यार्थीहरु समेत लगनशिल भएर उत्पादन गरिएको विद्यालयको भनाइ छ ।
एउटा मालाको ८० रुपैयाँदेखि २ सय रुपैयाँ सम्मा बिक्री हुने भएकोले बजारको माग अनुसार मालाको आम्दानी रहेकोले विदेशमा भन्दा यही धेरै आम्दानी गर्न सकिने दुवाडीको भनाइ छ ।
धादिङमा तुलनात्मक रुपमा गतवर्षको तुलनामा बढी फूल फूलेको र नेपालकै उत्पादनले नेपाललाई पुग्ने अवस्था रहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको सयोजकत्वमा गरिएको बजार अनुगमनमा शुक्रवार राजमार्ग क्षेत्रमा ५० हजार भन्दा बढीका प्रलास्टिकका माला जफत गरिएको छ । जिल्ला सदरमुकाम धादिङबेसी क्षेत्रमा भने प्लास्टिक माला जफत नगरिएपनि कुनै पसलमा देखिएमा प्रहरीले सिधै जफत गर्न सक्ने बताइएको छ । बजारमा प्लास्टिकका माला देखिएका छैनन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।