
रौतहट।
ओझेलमा परेको चन्द्रपुर नगरपालिका–१ मा रहेको ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्र लाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । पाँच सय बर्ष अघिको शेनबंशिय राजा गोल्मा राजा रानीको दरबार क्षेत्रमा रहेको टुँडिखेलमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साँढे ९ फिटको बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना गरिने भएको छ ।
सो क्षेत्रलाई ध्यानकेन्द्रको रुपमा विकास गरिने भएको छ । पुरातात्त्विक महत्त्व बोकेको सो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयको सहयोगमा गोल्माराजा बौद्ध बिहार जुटेको छ । सो क्षेत्रको विकासमा स्थानीयले श्रमदान गरी बाटो निर्माण गरिसकेका छन् भने जङ्गलको संरक्षण गर्दै विदेशमा रहेका नेपालीहरुले कुटीको निर्माण गरिदिएका छन् । सो क्षेत्रमा बेल र पारिजातका फूलहरु समेत रहेका छन्।
आउँदो मंसिर १० गते भित्र बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना हुने भिक्षु मेधंकर स्थबिरले बताए । उनका अनुसार ऐतिहासिक, पुरातात्वीक र किम्बदन्ति महत्त्व रहेको सो क्षेत्रको पहिचान गर्ने मात्र हैन पर्यटकीय धरोहरको रुपमा रहेको क्षेत्रको संरक्षणमा सबैको एकताको खाचो रहेको बताए । ऐतिहासिक रहेको गोल्माराजाको दरबारको इट्टा लगेर पौराई स्थित ब्रम्हस्थानमा रहेको इनारमा प्रयोग गरिएको छ भने ०११ सालतिर मानव बस्तिको बिस्तार सँगै अलपत्र रहेको सो दरबारको इट्टाको प्रयोग गरी स्थानीयले घर समेत निर्माण गरेको स्थानीयले बताएका छन् ।
भग्नावशेष रहेको दरबारको जीर्णोद्धारमा स्थानीयले जोड दिएका छ । तीनै तहको सरकारबाट ओझेलमा परेको सो क्षेत्रको संरक्षणमा भिक्षु मेधंकर स्थबिरले देखाएको चासोमा स्थानीयको भने सहयोग रहेको स्थानीय गोपाल घिमिरेले बताए । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित गैरीगाँउबाट आधा घण्टाको उकालोमा दरबारको टुँडिखेल पुगिन्छ भने टुँडिखेलबाट १५ मिनेट ओरालो र उकालो चढेपछि गोल्मा राजारानीको दरबार रहेको स्थानमा पुगिने स्थानीय समीरबाबु कार्कीले बताए ।
दरबार क्षेत्रमा रहेको टुँडिखेलमा गोल्मा राजाको शैनिकले परेड खेल्ने स्थानीय बृढापाकाहरु बताउँछन् । चन्द्रपुर वडा नम्बर १ का पुर्व अध्यक्ष बिरु राना मगरले दरवारको जीर्णोद्धार गरेर सङ्गग्राहलयको रुपमा विकास गर्न सकिने बताए । उनका अनुसार दरबारबाट स्थानीयले पुरानो गोल्कि पैसा, जाँतो, तरवार लगाएतका सामान स्थानीयसँग अझै सुरक्षित रहेको बताए । दरबार रहेको स्थानमा अझै त्यस बेलाको इट्टा, काटिएका ढुङ्गा रहेको छ ।
चन्द्रपुर नगरपालिका प्रमुख सञ्जय कुमार काफ्लेले शेनबंशिय राजा गोल्मा राजा रानीको दरबारको जीर्णोद्धार र टुँडिखेल लाई समेत उपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिने बताए । प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमलसिनाले गोल्मराजाको दरवारको संरक्षणमा सबै जुटनु पर्ने बताए । दरबारको विषयमा पुरातत्व विभागलाई जानकारी भैसकेको बताउँदै उनले यसको संरक्षण र प्रबद्धनमा सबैपक्ष जुट्ने हो भने मधेश प्रदेशकै पर्यटकीय गन्तव्य बन्ने छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।