काठमाडौं ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन्।
उनले सम्पूर्ण इसाई धर्मावलम्बी, नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
उपराष्ट्रपति यादवले ‘क्रिसमस डे’का अवसरमा जारी गरेको सन्देशमा नेपालमा मनाइने अन्य पर्वहरु जस्तै प्रेम, हर्षोल्लास र एकजुटताका साथ मनाउने आनन्दमय सामाजिक र सांस्कृतिक उत्सव भएको उल्लेख गरेका छन्।
यादवले नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र सांस्कृतिक पहिचान भएकामा एकता र एकजुटताको भावनालाई बढावा दिने विश्वास व्यक्त गरेका हुन्।
उपराष्ट्रपति यादवले भनेका छन्, “यस पर्वले अन्य चाडपर्वमा जस्तै मानिसलाई दया, दान र स्वयंसेवालगायत कार्यका समावेश गराउँदै खुशी र सद्भाव फैलाउन प्रोत्साहित गर्दछ। यो अत्यन्तै सकारात्मक पक्ष हो।”
खुशी, हर्ष र जोसका साथ मनाइने यो पर्वले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, भाइचारा, बन्धुत्वभाव, मैत्रीभाव आदिलाई थप प्रगाढ, बलियो र सुदृद्ध बनाउन सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।