उदयपुर ।
उदयपुर जिल्लाको रौतामाई गाउँपालिका वडा नं ६ मा पर्ने धार्मिक महत्वको रौतापोखरीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने काम शुरू भएसँगै अहिले दैनिकजसो पर्यटकको ओइरो लाग्ने गरेको छ।
रौतामाई गाउँपालिकाका पूर्व अध्यक्ष गजेन्द्रबहादुर खड्काले नेपाल समाचारपत्रसँग कुरा गर्दै आफ्नो कार्यकालमा संघीय सरकार, प्रदेश सरकार र पालिकाको करिब नौ करोडको लगानीमा पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पूर्वाधार तयार पारिएको बताउनुभयो।
पोखरीको वरिपरि पदमार्ग बनाइएको छ भने वरपर किराँत धर्मका अनुयायीहरू तथा किराँत वंशका प्रथम राजा यलम्बरको, गौतम बुद्धको, पारुहाङ सुम्निमाको मूर्ति बनाउनुका साथै गणेश लक्ष्मी शिवजीलगायतका देवी देवताको मूर्ति बनाएर राखिएको छ।
किंवदन्तीअनुसार वि.सं. १९६४ सालमा ओखलढुङ्गा जिल्लाको रुम्जाटारका भुजुन गुरुङले भेडा चराउन सो ठाउँमा गोठ बनाएर राखेका थिए। भेडा चराउन रौतापोखरी भएको ठाउँमा लगेछन् तर साँझमा भेडा गोठमा नफर्केपछि धेरै ठाउँमा खोजी गरे फेला पारेनन्।
राती सपनामा गुरुङलाई देवीले म रौता रानी नामकी देवी हुँ यहाँ मेरो वासस्थान रहेकोले भेडा चराएर फोहर नगर्नू। यहाँ मेरो मन्दिर स्थापना गरी दैनिक पूजाआजा गर्नु भनेर अलप हुनुभएछ।
भोलिपल्ट गुरुङले देवीले भनेअनुसार पोखरीको उत्तर पूर्वतर्फको डिलमा मन्दिर बनाएर पूजा गरेपछि साँझमा हराएका सबै भेडा गोठमा आएको भन्ने किंवदन्ती छ।
रौतामाई गाउँपालिका, कोशीप्रदेश सरकार र संघीय सरकारको करिब १३ करोड रुपियाँ हालसम्म रौतापोखरीको विकास तथा पर्यटन प्रवर्द्धनअन्तर्गतको काममा खर्च भइसकेको बताइएको छ।
पोखरीको वरपर फलामको घेराबेरा तथा भवनलगायतका अन्य भौतिक संरचना निर्माण गरिएको छ। अन्य संरचनाहरू पनि निर्माण गर्दै जाने योजना रहेको ६ नं वडा सदस्य तिलकबहादुर मगरले बताउनुभयो।
समुन्द्र सतहबाट १ हजार ७ सय७० मिटरको उचाइमा रहेको रौतापोखरीमा वरिपरि वन भए पनि पोखरीमा रूखको पात देखिँदैन। हावाहुरीले उडाएर पोखरीमा पर्नु पर्ने हो तर पर्दैन। पानी कञ्चन भइरहन्छ।
पोखरीमा पानी त्यहीँबाट उम्रिएको र रौताकै पानी जमिनमुनिबाट बग्दै गएर उत्तरतिर राँकुली रसुवा, पश्चिमबाट त्रियुगा, दक्षिणबाट बरुवा र पूर्वबाट अँधेरी खोला बगेको छ।
भनौँ ती खोलाको मुहान नै रौतापोखरी हो। उदयपुरको इलामभन्दा पनि हुने रौतामा पानी परिरहन्छ भने कुनै बेला हावाहुरी आउने, बादल लाग्ने, कुहिरोले ढाक्ने गर्दछ।
उदयपुरको सदरमुकाम गाईघाटबाट करिब ५० किलोमिटर उत्तरमा पर्ने रौता पोखरीसम्म गाईघाटबाट साना तथा ठूला सवारी साधन हिउँद वर्षा सबै समयमा चल्ने गरेकोले यहाँ जाने आन्तरिक तथा वाह्य पर्यटकहरू आउने गरेका छन्।
आन्तरिक पर्यटकहरू भने दिनहुँजसो आ–आफ्नो भाकल बोलकबोल पूरा गर्न पूजा गर्न आउने गरेको पुजारी अधिकारीले बताउनुभयो।
हाल रौतामाई गाउँपालिकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधाका लागि सुविधा सम्पन्न अतिथि गृह निर्माण गरेको छ भने होमस्टेहरू पनि र अन्य होटलहरू पनि सञ्चालनमा रहेका छन्।
देशका विभिन्न भागबाट यहाँ पर्यटकहरू आइरहने भएकोले गाउँपालिकाले विशेष प्राथमिकता दिएर पर्यटन प्रवर्द्धन कार्यक्रमलाई अघि बढाएको छ । पुजारी अधिकारीकाअनुसार हाल दैनिक सय जनाभन्दा बढी पर्यटकहरू आउने र वनभोज खाने रमाइलो गर्ने गरेका छन्।
जिल्लामा मात्र होइन जिल्लाबाहिर पनि चर्चित ठाउँ भएकोले यहाँ घुमफिर तथा धार्मिक पर्यटनका लागि अत्यन्त रमाइलो हुने अनुभव आफूले संगालेको र अरूलाई पनि यस ठाउँमा आउन अनुरोध गर्ने कटारी २ की पूजा श्रेष्ठले बताउनुभयो।
अहिले हिउँदका समयमा रौतापोखरीमा घुमफिर गर्न आउने विभिन्न खालका सुटिङ गर्ने, म्युजिक भिडियो बनाउने समूहको भीड लागेको हुन्छ भने पिकनिक खान आउनेहरू पनि पोखरी वरपर देख्न सकिन्छ।
स्थानीय प्रशासनले सुरक्षाका लागि हालै मात्र अस्थायी प्रहरी चौकी स्थापना गरेर सुरक्षा व्यवस्था मिलाएको छ। पोखरीभन्दा केही तल बजार रहेको छ। यहाँ खान बस्नका लागि स्तरीय होटल नभए पनि गाउँले पाराका होटल सञ्चालनमा छन् भने होमस्टे पनि सञ्चालन छ एउटा रिसोर्ट पनि रहेको छ।
यहाँको मूल समस्या भनेको करिब ८ किलोमिटर सडक कालोपत्रे हुन नसक्नु हो। ६ नं वडाध्यक्ष पृथ्वीकुमार राईले भन्नुभयो– ‘त्रियुगा नगरपालिकाले आफ्नो पालिकाभित्र सडक बनाउने हो भने बाँकी क्षेत्रमा हामी आफैँ बनाउछौँ तर यसमा नगरपालिकाले बेवास्ता गरिरहेको छ।’
त्रियुगा नगरपालिका– १५ डहरसम्म कालोपत्रे छ त्यहाँबाट ८ किलोमिटर रौता पर्दछ । करिब १ किलोमिटर परसम्म नगरपालिका पर्दछ भने बाँकी रहेको सडकखण्डमा रौतामाइले नै सडक बनाउने वडाध्यक्ष राईले बताउनुभयो।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।