सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका–१ की ४५ वर्षीया विन्द्रादेवी परियार सात वर्षअघि परदेशमा बिताएको जीबन सम्झिँदा अँझै पनि भक्कानिनुहुन्छ। सामान्य ढंगले चलिरहेको उहाँको जीवन ०७१ साल साउनमा आएको बाढीपछि एकाएक बदलियो।
त्यस समयमा आएको बाढीले परियारको तीन तलाको घर मात्र बगाएन, त्योसँगै जीवनको खुसी पनि बग्यो । घर बगाएपछि उहाँ भाडा लिएर बस्न थाल्नुभयो। श्रीमान्, दुई छोरी, एक छोरा र सासूका साथ बसेकी परियारले आँट गरेरै सोही ठाउँमा फेरि घर बनाउनुभयो।
‘मैले ऋण गरेर घर हालें’,उहाँ भन्नुहुन्छ– ‘तर, मलाई पछि साहुले निकै सताउन थाल्यो, श्रीमान्लाई केही वास्ता नै हुन्थेन । रातदिन रक्सी मात्रै खाएर हिँड्ने।’ करिब एक वर्षजति परियार साहुको सम्पर्कमा आउनुभएन।
‘म कहिले कता कहिले कता गएर बस्न थालें’, उहाँ भन्नुहुन्छ– ‘मर्छु भनेर पनि हिँडे, तर सकिनँ। अन्ततः विदेश जाने योजना बनाएँ।’आमा र छोराछोरीसँग बिदा मागेर वैदेशिक यात्रा तय गर्नका लागि परियार काठमाडौं पुगिन्। उहाँ वैदेशिक रोजगारीका लागि दलालमार्फत झापाबाट दिल्ली–बहराइन–दुबई हुँदै कुवेत पुग्नुभएको थियो।
विदेश पुग्नासाथ परियार बिरामी हुनुभयो, दुई महिनासम्म बिरामी भएपनि काम भने गरिरहनुभयो। ‘तर, मालिक्नीले मलाई मर्छे भनेरअफिसमा लगेर राखिदिइन्,’ परियार भन्नुहुन्छ– ‘अफिस पुगेपछि मलाई धेरै तनाव दिन थाले, एजेन्टहरुले ३/४ लाख दिएपछि तँलाई नेपाल पुर्याइदिन्छौं नत्र इनारमा लगेर फाल्दिन्छम् भन्थे।’
‘दुई महिना काम गरेर कमाएको करिब २८ हजार रुपियाँ पनि घर मालिक्नी र एजेन्टले सापट भनी लिएर फिर्ता दिएनन्। नेपालबाट मलाई पठाएका एजेन्ट त सम्पर्कमा नै रहेनन्’, उहाँ थप भन्नुहुन्छ– ‘त्यसपछि म भागेर नेपालबाट आएका अरु महिलाको कोठामा गएर बसें।’
त्यही समयमा कुवेतमा रहेको एम्बेसीले भागेर आएका महिला तथा पुरुष कामदारलाई नेपाल फिर्ता पठाउनका लागि खुला गरेको थियो।
त्यहाँको कारागारमा दश दिन बसेपछि परियारनेपाल सरकारकै सहयोगमा नेपाल फर्किन सफल हुनुभयो। ‘म जस्तो विदेश गएकी थिएँ त्यस्तै फर्किएँ’, उहाँ भन्नुहुन्छ– ‘शरीरमा राम्रो कपडा पनि थिएन, रित्तो हात फर्किएँ।’
गैरकानुनी रुपमा दलालको फन्दामा फसेर ०७३ असारको महिना कुवेत गएकी परियार सोही वर्ष चैतको महिना नेपाल फर्किनुभएको हो।विदेशबाट कमाएर ल्याएको पैसाले ऋण तिरौंला भन्ने सपना अधुरै रह्यो। अहिले छोराले घर बेचेर ऋण तिरे। श्रीमान् पनि तीन महिनाअघि बिते।
दुई छोरीहरुको बिहे भइसक्यो। आफूसँग रहेकी सासूलाई पनि प्यारालाइसिस छ। विदेश जानुभन्दा अगाडि लागेको १४/१५ लाख ऋण मिनाह अझै भइसकेको छैन। विदेशमा पैसाको रुख नै फल्छ होला सोचेर विदेश गएकी परियार अहिले दलालको फन्दामा कोही पनि महिलालाई नफस्न आग्रह गर्नुहुन्छ।
वैदेशिक रोजगारीमा गएका नेपाली महिलालाई कुवेतमा तातोपानी खन्याएर पोलिदिने, तातो तेल शरीरमा हालिदिने, आइरनले पोलिदिने गरेको उहाँले देख्नुभएको छ।
यही दुःख देखेर परियारले महिलालाई विदेश नजान सुझाव दिनुभएको हो। विदेश गएका महिलालाई भाषाको समस्या त छँदै छ, शारीरिक तथा मानसिक तनावसमेत खेप्नुपर्ने बाध्यता छ।
त्यस्तै, वसन्ती पन्त कार्कीको पीडा पनि कम छैन। उहाँ २०७३ वैशाखमा कानुनी प्रक्रियाबाटै म्यानपावरमार्फतसाउदी अरेबियाजानुभएको थियो।
१ लाख ९० हजार रुपियाँ खर्च गरेर गएकी कार्कीले अस्पतालमा पोछा लगाउने काम पाउनुभयो। ‘हातले नै पोछा लगाउनुपथ्र्यो,’ कार्की भन्नुहुन्छ– ‘हस्पिटलमा काम गरेर एक वर्ष बिताएँ, एक वर्षपछि श्रीमान् बित्नुभयो । तर, बिदा पाइनँ।’
एम्बेसीमा सम्पर्क गरी भिडियो बनाउन लगाएर कम्पनीले एक वर्षपछि दुई महिनाको छुट्टीमा पठायो । दुई महिनापछि पुनः गएँ । दुई वर्ष पूरा पुगेपछि बुबाको निधन भयो।
तीन वर्ष नपुगेको भनेर बिदा पाउनुभएन । तीन वर्ष पूरा गरेर मात्रै उहाँ नेपाल फर्किनुभयो। रोजगारीका लागि विदेशमा गएका महिलाले निकै दुःख पाउने गरेको कार्कीको भनाइ छ।
खाडी मुलुकमा महिलाले निकै समस्या खेप्नुपरेको भन्दै उहाँ घरेलु कामदारका लागि जाने महिलालाई शारीरिक शोषणसमेत हुने गरेको बताउनुहुन्छ।
कर्णालीमा वैदेशिक रोजगारीका लागि पछिल्लो तीन वर्षमा ४ हजार ५ सय ८७ जनाका लागि श्रम स्वीकृति लिएको श्रम रोजगार कार्यालय कर्णाली प्रदेशले जनाएको छ।
कार्यालयसँग कर्णालीबाट कति महिला रोजगारीका भारत तथा तेस्रो मुलूक जान्छन् भन्ने यकिन तथ्यांक छैन। तर, केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक नतिजाअनुसार २०६८ को तुलनामा २०७८ मा बिदेसिने महिलाको संख्या ७१ दशमलव ९ प्रतिशतले बढेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।