काठमाडौँ।
भक्तपुरको राधे राधे स्थित ‘ईजी वे ट्रेल सेन्टर’बाट दुईपाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षाका क्रममा तीन ओटा प्रवेश पत्रसहित एकजना परीक्षार्थीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । इलामको चुलाचुली ४ घर भई हाल काठमाडौँको थली बस्दै आएका १८ वर्षीय सिजन पुरीलाई प्रयोगात्मक परीक्षाका क्रममा सोमबार नियन्त्रणमा लिइएको हो ।
प्रवेश पत्रमा ९६७२९४७ एप्लिकेशन आइडी नम्बर उल्लेख भएका पुरीले पहिलो पटक परीक्षामा अनुत्तीर्ण भइ पुनः दोस्रो पटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएको र पुनः परीक्षामा अनुत्तीर्ण भएकोमा तेस्रो पटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी हुने क्रममा प्रयोगात्मक परीक्षामा खटिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालय भक्तपुरको संयुक्त टोलीले पुरीलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा आएका पुरीलाई आवश्यक अनुसन्धानका लागी प्रहरी वृत्त ठिमीमा पठाइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।