विराटनगर ।
राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान जारी छ । दुई सदस्यका लागि निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो । कोशी प्रदेशमा अन्य तर्फ सत्तारूढ गठबन्धनबाट कृष्णप्रसाद सिटौला र महिला कोटामा चम्पा कार्की उम्मेदवार रहेका छन ।
एमाले–राप्रपा गठबन्धनबाट अन्यमा राप्रपाका उद्धव पौडेल र महिलामा रुक्मिणी कोइराला उम्मेदवार रहेका छन । अन्य तर्फ पर्शुराम अधिकारीको उम्मेदवारी फिर्ता गरेर एमालेले राप्रपाका पौडेललाई समर्थन गरेकाले यो पदमा प्रतिस्पर्धा पेचिलो बन्ने देखिन्छ । यो प्रदेशमा सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४ हजार ६४२ छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि विराटनगर आएका मोरङको ग्रामथान गाउँपालिका प्रमुख जयप्रकाश गच्छदार थारु बेहोस भएका छन् । उनी बुधबार राति बेहोस भएर ढलेपछि उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ ।
त्यहाँ उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल लगिएको हो । भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको उपचार भइरहेको अस्पतालले बताएकाे छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।