सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशकै पहिलोपटक महिला सम्मेलनको आयोजना हुने भएको छ। वीरेन्द्रनगर नगरपालिकाले यही फागुन २१ गते वीरेन्द्रनगरको सिटी हलमा महिला सम्मेलनको आयोजना गर्न लागेको हो।
आयोजक नगरपालिकाले अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ भन्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ।
सम्मेलनको उद्घाटन नेपालका प्रथम पूर्व महिला राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। सम्मेलनमा कर्णालीका ७९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, महिला नेत्री, आमा समूह, वडा समितिका अगुवा महिला सहभागी हुनेछन्।
११४औं श्रमिक महिला दिवसको पूर्वसन्ध्यामा कर्णालीमा महिला सम्मेलनको आयोजना गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो।
उहाँका अनुसार कार्यक्रममा मुख्य गरी उपप्रमुख/उपाध्यक्षहरुले नीति तथा बजेट निर्माण, न्यायिक र अनुगमन समितिमा काम गरिरहेकाले उनीहरुको अनुभव आदनप्रदान गरिनेछ ।
‘कार्यक्रममा प्रदेश सरकार, प्रदेश सभा सांसद, अन्य राजनीतिक दलका महिला नेत्रीहरुलाई पनि निमन्त्रणा गरिसकेका छौं,’ ढकालले भन्नुभयो– ‘अन्तर पार्टी महिला सञ्जाल सुर्खेत, शिक्षक महासंघ, नगर शिक्षक महासंघ विभिन्न संघसंस्थासँग छलफल गरेर प्रतिनिधित्व पठाइदिन अनुरोध गरिसकेका छौं।’
जुनुसुकै क्षेत्रमा काम गरिरहे पनि महिलाहरुको सवालमा साझा मत हुनुपर्छ भन्ने विषयमा पनि छलफल गर्ने र घोषणापत्र नै जारी गर्ने कार्यक्रम तय भएको उहाँको भनाइ छ । कार्यक्रममा प्रदेशभरबाट करिब १ हजार सहभागी हुनेछन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।