दोलखा।
दोलखाको भीमेश्वर नगरपालिकाले कोच नेपालसँगको सहकार्यमा नगर भित्रका तीन हजार बढी विद्यार्थीको लागि व्यवहारिक सीप प्रशिक्षण सुरु गरेको छ ।
सदरमुकाम चरिकोटको कालिञ्चोक माध्यामिक विद्यालयमा आइतबारबाट सुरु भएको प्रशिक्षणमा नगरपालिकाका नौ वटा वडाका १२ वटा विद्यालयहरुबाट तीन हजार पाँच सय विद्यार्थीको सहभागिता रहेको कोच नेपालका संयोजक सिमोन खत्रीले बताए ।
एक हप्तासम्म सञ्चालन हुने व्यवहारिक सीप प्रशिक्षणमा सहभागीहरूले घरमा हुने विपद् व्यवस्थापन अन्तर्गत ग्यासजन्य आगजनी नियन्त्रण र प्राथमिक उपचार पद्धतिको विषयमा जानकारी पाउने संयोजक खत्रीले बताए ।
प्रशिक्षणकै क्रममा सहभागी विद्यार्थीहरू मध्य कक्षा ८, ९ र १० का छात्राहरुको लागि आत्मरक्षा तालिम समेत दिइने कोच नेपालका संयोजक खत्रीको भनाई छ । कोच नेपालले विगत देखिनै सामुदायिक विद्यालयका विद्यार्थीलाई आत्मरक्षा, विपद् व्यवस्थापन र प्राथमिक उपचारको व्यवहारिक सिप सिकाउँदै आएको र दोलखाको अन्य विद्यालयमा पनि यस्ता प्रशिक्षण तथा तालिम कार्यक्रम सञ्चालन गरिने संयोजक खत्रीको भनाई छ ।
विद्यालयस्तरमै विपद् व्यवस्थापनको विषयमा जानकारी दिँदा घरमा हुने विपद्जन्य घटना न्यूनीकरणमा सहयोग पुग्ने र प्राथमिक उपचारको विषयमा समेत विद्यार्थीलाई सिप प्राप्त हुने विश्वासका साथ कोच नेपालसँगको सहकार्यमा प्रशिक्षण तथा तालिम कार्यक्रम आयोजना गरिएको भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।