१९ भदौ ,काठमाडौ – दरबारमार्गस्थित अन्तर्राष्ट्रिय ब्राण्डका ठूला स्टोरहरुले डेढसय गुणाभन्दा बढी नाफा लिएर उपभोक्ताई सामान बिक्री गर्दै गरेको फेला परेको छ। आपूर्ति मन्त्री शिवकुमार मण्डलको अनुगमन टोलीले दरबारमार्गमा सोमबार मारेको आकस्मिक छापाको क्रममा यस्तो तथ्य भेटिएको हो।
आपूर्ति मन्त्री शिबकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा दरबारमार्गका ब्राण्डेड स्टोरले ११ गुणा बढी मुल्य लिने गरेको भेटिएको हो ।
अनुगमनका क्रममा दरबारमार्गमा रहेको पुमा, नाइके, बिन्टले र स्टोर वानमा १ हजार पर्ने कपडा ४ देखी ५ हजार, २४ सय रुपैया पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको पाइएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले जानकारी दिए ।
तर कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने व्यवस्था भए पनि व्यापारीहरूले आफूखुसी मूल्य कायम गरी उपभोक्ता ठगेका हुन् ।
दरबारमार्गसँगै कमलादीको सिटी सेन्टर, ठमेलको नर्थ फेस र नक्सालको भाटभटेनीमा पनि आपूर्ति विभागले अनुगमन गरेको छ । कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने भए पनि पसलले अत्यधिक नाफा खाने गरेको भेटिएकाले उनीहरुलाई कालोबजारी ऐनअनुसार कारवाही गरिने आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो ।