उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका ११ साकेला टोलका युवराज राईको उद्धार गरिएको छ । साङ्लोमा बाँधिएर खोर जीवन व्यतीत गर्दै आएका युवराजको आइतबार उद्धार गरिएको हो ।
विगत ८ वर्षदेखि मानसिक समस्या भोग्दै आएका उनलाई ४–५ वर्ष अघिदेखि साङ्लोमा बाँधेर खोरमा राखिएको थियो। २०७९ साल जेठमा उनलाई उपचारको लागि मानव सेवा आश्रममा लागिएको थियो । लगभग ११ महिना पश्चात् ठिक भएर घर फर्केका उनमा पुनः समस्या आएपछि साङ्लोमा बाँधिएर खोरमा बसिरहेका थिए ।
दिसा पिसाब र खाना एकै ठाउँमा गर्दै आएका उनलाई आइतबार नेकपा एमाले उदयपुर जिल्ला अध्यक्ष भागवत राउतको समन्वयमा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त र उप्रप्रमुख महेश्वरी राईको सहयोगमा मानव सेवा आश्रम जनकपुर पठाइएको हो ।
लामो समय साङ्लोमा जीवन बिताएका युवराजको आमाको भने निधन भैसकेको छ भने बुवा क्यान्सर पीडित रहनु भएको छ । तीन दाजुभाइ मध्येका कान्छा युवराज अहिले परिवारको सम्पर्कमै नरहनु भएको उनको भान्जी बुहारी उमा राईले बताइन ।
युवराजको उद्धार गर्दै नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले अब पुनः उनमा यस्तो समस्या हुन नदिन स्थानीय सरकारले उनी ठिक भएर फर्केपछि उनलाई व्यस्त गराउने वातावरण बनाइदिन अनुरोध गरे ।
नगर प्रमुख वसन्त बस्नेतले नगर भित्रका युवराज जस्ता जो कोहीलाई नगरपालिकाले उद्धार गर्ने भन्दै उनीहरूलाई उद्धार पश्चात् समस्या हुन नदिन स्थानीयले समेत सहयोग गर्नु पर्ने धारण राखे ।
नगर उपप्रमुख महेश्वरी राईले युवराज ठिक भएर फर्केपछि उनलाई कहीं कतै रोजगार मूलक काममा व्यस्त बनाएर पुनः साङ्लोमा फर्किन नदिने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीयहरुले भने पशु झैँ खोरमा बसेका युवराजको उद्धार भएकोमा खुसी व्यक्त गर्दै उनलाई सामान्य जीवनमा फर्काई दिन मानव सेवा आश्रमसँग माग गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।